विराटचोकः नझरेका फूलहरुले आयोजना गर्ने पलेँटी साँझको ४६ औँ शृङ्खलामा सुन्दरहरैंचाका कवि पुरन याक्खा प्रस्तुत हुनुहुने भएको छ ।
नझरेका फूलहरुका प्रस्तोता केपी घिमिरेका अनुसार यही बैशाख २७ गते धरानमा हुने पलेँटी साँझमा साहित्यकार याक्खाले आफ्ना कविता, गीत, गजल वाचन गर्नुहुने भएको हो । याक्खाले गत वर्ष ‘गर्भभित्र’ कविता सङ्ग्रह र ‘झुपडी’ कथा सङ्ग्रह प्रकाशन गर्नुभएको छ ।
धरान सङ्गीत प्रतिष्ठानको सहकार्यमा प्रतिष्ठानको सभाहलमा हुने कार्यक्रममा स्रष्टा सम्मानका साथै गीत सङ्गीत श्रवण र साहित्यिक विमर्श पनि हुने आयोजकले जनाएको छ ।
पलेँटीको ११ औँ वार्षिकोत्सवको अवसरमा बैशाख २ गते भएको अघिल्लो शृङ्खलामा सुन्दरहरैंचाका कवि सिजन श्रेष्ठका कविताको आस्वादन साहित्यानुरागीले गरेका थिए ।







