गछियाः मोरङको सुन्दरहरैँचा नगरपालिका वडा नम्बर ३ गछियाका सुरज दाहालले विदेशमा सिकेको अनुभव आफ्नै ठाउँमा उपयोग गर्दै होटल व्यवसाय शुरु गर्नुभएको छ ।
स्पेनमा १० वर्ष बिताएर नेपाल फर्किएका दाहालले गछिया बजारमा करिब ३० लाख रुपैयाँ लगानीमा ‘राज्य रूफटप’ नामक होटल सञ्चालन गर्नुभएको हो ।
विदेशमा रहँदा होटल व्यवसायसँग सम्बन्धित क्षेत्रमा काम गरेको अनुभवलाई नेपालमै सदुपयोग गर्ने र आफ्नै ठाउँमा रोजगारी सिर्जना गर्ने उद्देश्यले व्यवसाय शुरु गरेको दाहालले बताउनुभयो ।
होटलमा खाना, नास्ता, सेकुवा, पिज्जा, बर्गर तथा विभिन्न चिसा पेय पदार्थ उपलब्ध छन् । स्वच्छ, सफा र गुणस्तरीय खाना तथा खाजा खुवाउने लक्ष्य राखेको होटलले आगामी दिनमा जापानी परिकार सुसीसमेत उपलब्ध गराउने योजना बनाएको छ ।
पूर्व–पश्चिम राजमार्ग हुँदै यात्रा गर्ने यात्रु तथा स्थानीय ग्राहकलाई लक्षित गरी सञ्चालनमा ल्याइएको ‘राज्य रूफटप’ गछिया बजारमा खानपानका लागि नयाँ गन्तव्य बनेको छ ।
हालै सञ्चालनमा आएको होटलमा पाइने जापानी परिकार सुसीले सो परिकार मन पराउने र चाख्न चाहने सेवाग्राहीलाई होटलले सेवा दिन सक्ने सञ्चालक दाहाल बताउनुहुन्छ ।





