विराटचोकः ‘नझरेका फूलहरू’को आयोजनामा शनिबार सुन्दरहरैंचाको विराटचोकमा भएको कार्यक्रममा कवि मुकुन्द प्रयासले आफ्ना १० वटा कविता सुनाएर साहित्यानुरागीलाई मुग्ध बनाउनुभयो ।
गायक भूमा अधिकारीले नारायणगोपालका दुई वटा गीत कार्यक्रममा प्रस्तुत गर्नुभएको थियो । कार्यक्रम नै नारायणगोपालको स्मृतिमा गरिएको हुनाले कार्यक्रमको नाम राखिएको थियो शब्दाञ्जलि ।
कवि प्रयासले आमालाई सम्झिएर ‘आमाको तस्बिर’ शीर्षकको कविता वाचन गरेर आफ्नो वाचन शुरु गर्नुभएको थियो ।
त्यसपछि कवि प्रयासले प्रवासी नेपालीमा समर्पित कविता, शास्वत प्रेम, पहिरोमा हामी, प्रेमी अर्थात् हनुमान, भेट अनुभूति, जीतको चक्रव्यूह, म गन्धर्व, भ्रमको महाकाव्य शीर्षकका कविता वाचन गर्नुभएको थियो । कविताको रचनागर्भसहित वाचन गरिएका कविताले कविताको अर्थ बुझ्न थप सहयोग गरेको थियो ।
अंग्रेजी, हिन्दीलगायतका भाषामा सुमन पोखरेलले अनुवाद गर्नुभएको र आफूलाई चिनाउन सफल कविता पनि उहाँले कार्यक्रममा वाचन गर्नुभएको थियो । ‘बाँसमा…’ शीर्षकको सो कविताको रचनागर्भसहित कविता सुनाउँदा साहित्यानुरागी स्रोताले ताली बजाएका थिए ।
अधिकारीले नारायणगोपालका ‘तिमीले भनेका सारा देव छोएर…’ र ‘झरेको पात झैँ भयो, उजाड मेरो जिन्दगी…..’ बोलका गीत गाउनुभएको थियो ।
कार्यक्रमका प्रमुख अतिथि संघीय सांसद प्रेमलाल चौधरीले साहित्यको क्षेत्रमा आफूले सक्दो सहयोग गर्ने बताउँदै भोटेकोशीको बाढीपछि लेखिएको एउटा कविता वाचन गर्नुभएको थियो ।
कार्यक्रममा आयोजक नझरेका फूलहरूको तर्फबाट कवि मुकुन्द प्रयासलाई सम्मान गरिएको थियो ।
व्यवसायी टेकमणि न्यौपाने (विवेक) को सभापतित्वमा भएको कार्यक्रममा सुरेश श्रेष्ठले स्वागत मन्तव्य राख्नुभएको थियो । कार्यक्रमको सञ्चालन नवराज पोखरेल ‘नवशिला’ ले गर्नुभएको थियो ।
मंसिर महिनाका प्रत्येक शनिबार स्वर सम्राट नारायणगोपाल गुरुवाचार्यलाई सम्झिएर कार्यक्रम गरिरहने नझरेका फूलका सञ्चालक केपी घिमिरेले बताउनुभयो ।
कार्यक्रममा धनकुटा, मोरङ र सुनसरीका साहित्यकारको उल्लेख्य उपस्थिति रहेको थियो ।





