विराटनगरः नोबेल साकोस साहित्य संस्था विराटनगर शाखाले हिजो विराटनगरमा आयोजना गरेको नियमित रचनावाचन कार्यक्रममा डा. महावीर पुनलाई सम्मान गरिएको छ ।
विराटनगर स्थित दाहाल प्रतिष्ठानको सभा हलमा भएको कार्यक्रममा राष्ट्रिय आविष्कार केन्द्रका अध्यक्ष डाक्टर महावीर पुनलाई प्रमुख अतिथि, विशिष्ट अतिथि तथा संस्थाकी अध्यक्ष मञ्जु घिमिरे दाहालले सम्मानपत्र प्रदान गर्नुभएको हो । कार्यक्रममा सहभागी साहित्यकारले डा. पुनको आत्मकथा पनि खरीद गर्नुभएको थियो ।
विराट साहित्य संगमका अध्यक्ष मधु पोख्रेलको प्रमुख अतिथ्यतामा र आयोजक संस्थाकी अध्यक्ष मन्जु घिमिरे दाहालको सभापतित्वमा भएको कार्यक्रमको विशिष्ट अतिथिमा राष्ट्रिय आविष्कार केन्द्रका अध्यक्ष डाक्टर महावीर पुन हुनुहुन्थ्यो । कवि बलराम पोखरेल, नेपाल मुक्तक प्रतिष्ठान कोशी प्रदेश अध्यक्ष तथा समालोचक बाबुराम पोखरेल, लेखक तथा अनुसन्धाता केशु विरही, वरिष्ठ कवि तथा समालोचक हरि कट्टेल, शिवनारायण मण्डल लगायतका व्यक्ति कार्यक्रममा उपस्थित हुनुहुन्थ्यो ।
सो कार्यक्रममा गोपाल निर्भिक, प्रमोद ढकाल प्रिन्स, नवराज पोखरेल नवशिला, भूपाल अधिकारी, शरद प्रधानाङ्ग, ऋषि तिवारी, शान्ता भट्टराई, रोहिणी रसिक, कुमार श्रेष्ठ, सुजा चापागाईं, उमेश लुईटेल, किस्मत खतिवडा, नानुमैया दाहाल लगायतले आफ्ना रचना वाचन गर्नुभएको थियो ।
नाटककार भरत बर्बरिकले शुभकामना मन्तव्य दिनुभएको कार्यक्रम संस्थाकी सचिव सुजाता राईले सञ्चालन गर्नुभएको थियो ।







