काठमाडौं । लगातार दुई संस्करणको फाइनलमा पुगेर पनि उपाधिबाट वञ्चित भएको सुदूरपश्चिम रोयल्सले तेस्रो प्रयासमा नेपाल प्रिमियर लिग (एनपीएल) को ट्रफी उचालेको छ । साविक विजेता लुम्बिनी लायन्सलाई १० विकेटले पराजित गर्दै सुदूरपश्चिमले पहिलो पटक एनपीएल च्याम्पियन बन्ने इतिहास रचेको हो ।
पहिलो खेलमै लुम्बिनी लायन्ससँग पराजित हुँदै तेस्रो संस्करणको यात्रा सुरु गरेको सुदूरपश्चिमले अन्ततः फाइनलमा त्यही लुम्बिनीलाई हराएर उपाधि जितेको हो ।
तीन पटक फाइनल पुग्ने सुदूरपश्चिम पहिलो टोली बनेको छ भने तेस्रो प्रयासमा च्याम्पियन बन्ने आफ्नो सपना पनि पूरा गरेको छ । एनपीएलको पहिलो संस्करण जनकपुर बोल्ट्स र दोस्रो संस्करण लुम्बिनी लायन्सले जितेका थिए ।
लुम्बिनीसँगको तीन हारको बदला
सुदूरपश्चिमका लागि यो उपाधि जीत मात्र थिएन, लुम्बिनीविरुद्धको लगातार तीन हारको जवाफ पनि थियो ।
दोस्रो संस्करणको फाइनलमा लुम्बिनीसँग पराजित भएको सुदूरपश्चिमले तेस्रो संस्करणको लिग चरण र पहिलो क्वालिफायरमा पनि उसैसँग हार बेहोरेको थियो ।
एउटै सिजनमा दुई पटक पराजित भएपछि फाइनलमा लुम्बिनीलाई हराउनु सुदूरपश्चिमका लागि प्रतिष्ठाको विषयसमेत बनेको थियो ।





