Friday, May 23, 2025
Homeकृषिगाईको गोबरबाट भगवानका मूर्ति र पूजा सामग्री बनाउने बेबिना (नारी दिवस विशेष...

गाईको गोबरबाट भगवानका मूर्ति र पूजा सामग्री बनाउने बेबिना (नारी दिवस विशेष १२)

खेमचन्द्र अधिकारी
विराटनगरः जैविक मल र बायोग्यास उत्पादन तथा घर लिपपोत गर्न प्रयोग गरिने गाईको गोबरबाट पूजा सामग्रीका साथै भगवानका मूर्ति पनि बनाउन सकिन्छ भन्दा विश्वास नलाग्न सक्छ । सुन्दा यस्तै अपत्यारिलो काम गरेर चर्चा बटुल्दै हुनुहुन्छ विराटनगर– ५ बरगाछीकी बेबिना दाहाल ।

पशुपालक किसानले दूध दिने गाईको राम्रो हेरचाह गर्ने तथा दूध नदिने र बुढा गाईको पालनपोषणमा ध्यान नदिने गरेको देखेपछि त्यस्ता अपहेलित गाईको स्याहारमा सहयोग पुगोस् भनेर नयाँ काम शुरु गरेको उहाँको भनाइ छ । गाईको गोबर बिक्री हुने भएपछि दूध नदिने गाईको पनि रेखदेख हुने ठानेर आफूले नवप्रवर्तन उद्योग शुरु गरेको दाहाल बताउनुुहुन्छ ।

गाईको गोबर र गहुँतबाट भगवानका मूर्तिका साथै पूजा सामग्रीहरु दियो, लक्ष्मीका पाउ, श्रीयन्त्र, जलपात्र, माला, अगरबत्ती मात्रै होइन गमला, मोबाइल स्टेन आदि सामान पनि उहाँ बनाउनुहुन्छ । शहरबजारका बासिन्दालाई लिपपोतमा सहज होस् भनेर गाईको गोबरको धुलो (पाउडर) पनि उहाँले गौमय ब्राण्डमार्फत् बिक्रीका लागि ल्याउनुभएको छ । धुलो गोबरमा पानी हालेर लिपपोत गर्दा आलो गोबरजस्तै सुगन्ध आउने उहाँको दाबी छ ।

भारतमा गएर तालिम लिएर त्यस्ता सामग्री बनाउन थाल्नुभएकी उहाँले अरुलाई पनि सो सीप सिकाइ आफ्नो उद्योगमा १० जनालाई रोजगारी दिनुभएको छ । हिन्दू धर्मअनुसार गाईलाई गौमाता मानिने र यसको गोबर तथा गोमूत्रलाई पवित्र मानिने हुनाले बेबिनाले अध्यात्म, रोजगार, गरिबी निवारण, नवप्रवर्तन धेरै विषय जोडेको देखिन्छ । पटक–पटक प्रयोग गर्न मिल्ने यस्ता सामग्री हलुका पनि छन् । विराट एक्स्पो विराटनगरमा पहिलो पटक उहाँले बिक्रीका लागि ती सामान राख्नुभएको थियो । सुन्दरहरैंचा विराट एक्स्पो ४ मा पनि उहाँले त्यस्ता सामग्री बिक्री र प्रदर्शन गर्न तथा आफ्नो उद्यमको बारेमा जानकारी दिन स्टल राख्नुभएको थियो ।

‘उन्नत गोठ प्रालि’ नामक कम्पनीमार्फत् उत्पादित सामग्री गौमय नामक ब्राण्डमार्फत् बजारीकरणमा लाग्नुभएकी उहाँ पूर्व बैंकर हुनुहुन्छ । बैंकमा रोजगारी गर्नुभन्दा राष्ट्रिय जनावर गाईको संरक्षणसँगै स्थानीयलाई आय आर्जनमा पनि जोड्ने अभियान भएकाले मनैदेखि यो कामप्रति लगाव रहेको र परिवारबाट पनि सहयोग पाइरहेको उहाँको भनाइ छ । यो ठूलो महाअभियान हुन सक्ने उहाँको ठम्याइ छ ।

बेबिनाले दूध नदिने गाईको संरक्षणका लागि गोबरबाट धार्मिक सामग्री उत्पादन सुरु गरेको बताइन् । ‘गाईले दूध दिँदासम्म राम्रै हेरचाह गरिन्छ तर दूध दिन छाडेपछि ती गाई बेसहारा बनाइन्छन्,’ उनले भनिन्, ‘त्यस्ता गाईको संरक्षणका लागि मैले गोबरबाट सामग्री उत्पादन थालेको हुँ ।’

बेबिनाका अनुसार गाईको गोबर किन्ने अभियान थालेपछि दूध नदिने गाईलाई गाईधनीहरूले पनि राम्ररी घाँस खुवाउन थालेका छन् । गोबर सङ्कलनका लागि विराटनगर–५ का ८ स्थानमा केन्द्र स्थापना गरी गाईको गोबर प्रतिकिलो २ देखि ३ रुपैयाँमा उन्नत गोठ प्रालिले किन्ने गरेको छ ।

पानीले नभिज्ने, पटक–पटक प्रयोग गर्न मिल्ने तथा नफुट्ने हुनाले गोबरबाट उत्पादित सामानमा प्रयोगकर्ताको आकर्षण बढ्ने दाहालको भनाइ छ ।

दूध दिन छाडेका गाईलाई पनि माया गर्नुपर्छ भन्ने भाव पशुपालकमा पलाओस् । बेबिनाको उन्नत गोठ प्रालि अझ उन्नत हुँदै जाओस् । गौमय ब्राण्ड नेपालकै उत्कृष्ट ब्राण्ड बनोस् । शिखरबास सञ्चार सेवा प्रालिको यही छ शुभकामना ।

सम्बन्धित समाचारहरू

शोभा दिदीः जसले ६८ वर्षको उमेरसम्म स्वास्थ्य चेतना फैलाइरहनुभयो (नारी दिवस विशेष १०)

आधा दर्जन व्यवसाय हाँकिरहेकी सफल व्यवसायी मनिता दंगाल (नारी दिवस विशेष ९)

मनोविमर्शकर्ता सुशीला सुवेदी, पाठक (नारी दिवस विशेष ८ )

अपाङ्गता भएका व्यक्तिको हकहितका लागि सक्रिय भीमा खतिवडा (नारी दिवस विशेष ७)

भगवती पौडेलः उमेरले पढाइ छेक्दैन, समाजसेवा र राजनीतिसँगै अध्ययन गर्न सकिन्छ भन्ने उदाहरण (नारी दिवस विशेष ६)

मीना चौधरीः ३५ वर्ष एउटै विद्यालयमा प्रधानाध्यापक (नारी दिवस विशेष ५)

हौसला र प्रेरणाको साथमा अघि बढेकी नीलम ढुङ्गाना (नारी दिवस विशेष ४)

समाजसेवा, शिक्षण र सहकारी व्यवस्थापन सँगसँगै गर्ने योजना शर्मा (नारी दिवस विशेष ३)

सुन्दरहरैंचाकी साहसी नारी रोसा बस्नेत (नारी दिवस विशेष २)

नेपालकै दोस्रो होची महिला मालती ऋषिदेव (नारी दिवस विशेष १)

 

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments