विराटचोकः सुन्दरहरैंचा ५ मोरङमा बुबा शिवलाल र आमा मनमाया खतिवडाकी छोरीको रुपमा जन्मनुभएकी भीमा खतिवडा १६ वर्षको उमेरसम्म शारीरिक रुपमा सामान्य अवस्थामा हुनुहुन्थ्यो । तर कक्षा ९ मा पढ्दापढ्दै स्कोलोसिसको समस्याका कारण उहाँका मुण्टो बाङ्गिने र मेरुदण्ड पछाडि उठ्ने समस्या देखियो ।
डाक्टरको भनाइअनुसार वंशाणुगत र बोन टिभीबाट सो समस्या हुने भनिए पनि उहाँमा ती दुवै समस्या थिएन । ज्योति मावि सुन्दरहरैंचामा ९ कक्षामा पढ्दापढ्दै शारीरिक रूपमा कमजोर हुन थालेपछि उहाँ मानसिक तनावमा पर्नुभयो । दुर्भाग्यवश एसईई पनि बिग्रियो । उहाँलाई पढ्नै मन लाग्दैनथियो अरे । डाक्टरले यो बढ्न नदिन सकिन्छ तर निको हुँदैन भनेपछि शारीरिक कसरत गर्न थाल्नुभयो । यसले कतिबेला आत्महत्या गर्छे भनेर परिवारका सदस्यले निगरानी गर्न थाल्नुभयो ।
अर्काे वर्ष उहाँ इटहरी आवासीय विद्यालयमा ९ कक्षामा भर्ना हुुनुभयो । उता, ज्योति माविबाट पनि एसईई दिनुभयो । प्लस टुमा पढ्दै गर्दा परिवारले मलाई अपाङ्गता भएका अन्य व्यक्तिसँगै पढ्न पठाउने मनशाय राख्नुभयो । टीएसडीसीबी नामक संस्थाबाट कम्प्युटरलगायतका तालीम लिन काठमाडौं जानुभयो । नेपाल अपाङ्ग महिला संघकी पूर्व अध्यक्ष टीका दाहालले उहाँलाई काठमाडौं बोलाउनुभएको थियो । आफूभन्दा कमजोर शारीरिक अवस्थाका मानिसलाई देख्दा र परिवारले सपोर्ट नगरेका मानिस पनि खुशीसाथ काम गरिरहेका र तालिम लिइरहेका देखेपछि आफूलाई हौसला मिलेको उहाँको भनाइ छ । उनीहरुभन्दा आफू सक्षम र पारिवारिक वातावरण राम्रो देखेपछि आफ्नो मनोबल बढेको उहाँको अनुभव छ ।
नेपाल अपाङ्ग महिला संघको माई राइट्सको कोअर्डिनेटर भएर २००९ सालमा उहाँ फेरि सुन्दरहरैंचा फर्कनुभयो । हाल उहाँ राष्ट्रिय अपाङ्ग कोषको सदस्य सचिवको रुपमा कार्यरत हुनुहुन्छ ।
आफूले काम गर्दै जाँदा आफ्नो पालिकामा बौद्धिक अपाङ्गता भएका व्यक्ति देखेपछि उनीहरूको अध्ययनका लागि भनेर विद्यालय सञ्चालन गर्न थाल्नुभयो । तत्कालीन सुन्दरदुलारी नगरपालिकासँग समन्वय गरेर बौद्धिक अपाङ्गतालाई व्यावहारिक ज्ञान लिन सहज होस् भनेर १० जना बालकलाई साजीलाल प्राविको भवनमा अध्यापनको व्यवस्था मिलाइएको थियो ।
सो विद्यालयलाई मानव स्रोत व्यवस्थापन केन्द्र, विभिन्न संस्था तथा व्यक्तिगत रुपमा सहयोग हुने गरेको छ । विद्यालय सञ्चालन भए पनि स्रोत कक्षाको रुपमा विकास हुन सकेको थिएन ।
खतिवडालाई २०७९ सालमा राष्ट्रिय महिला आयोगले उत्कृष्ट महिलाको सम्मान प्रदान गरेको थियो । सरस्वती आमा मुभिजले सात प्रदेशका सात जना महिलालाई अवार्ड प्रदान गरेको थियो । त्यस्तै, अवलोकन भ्रमणकर्ताको रुपमा १ महिनासम्म उहाँले स्वीडेन र फिनल्याण्डको भ्रमणमा जाने अवसर पाउनुभयो । हाल उहाँ तालीम प्रशिक्षकको रुपमा पनि कार्यरत हुनुहुन्छ ।







