विराटचोकः गाउँगाउँमा स्वास्थ्य चेतना फैलाउन आफ्नो जीवनको ऊर्जाशील समय सक्नुभएकी सुन्दरहरैंचाकै ज्येष्ठ स्वास्थ्य स्वयमसेविका सुन्दरहरैंचा– ९ की शोभादेवी बस्नेत हाल सो कामबाट अवकाश हुनुभएको छ । ६८ वर्षको उमेरसम्म स्वास्थ्य चेतना फैलाइरहनुभएकी उहाँलाई नगरले सम्मानसहित बिदाइ गरेको हो । तर उहाँको मनमष्तिष्कमा पहिले आफूले गरेको काम झलझली आइरहन्छ । इन्द्रपुर स्वास्थ्य चौकीका इन्चार्ज लीलामणि दाहालका अनुसार आवश्यक परेको समयमा बोलाउँदा सबैभन्दा पहिले आइपुग्ने स्वयमसेविका बस्नेत नै हुनुहुन्थ्यो ।
घरघर पुगेर स्वास्थ्य चेतना फैलाउने कामबाट बिदा लिन अझै पनि उहाँको मनले मानेको थिएन । मुस्लिम समुदायमा काम गर्ने बस्नेतले स्वास्थ्य क्षेत्रमा लामो समय काम गरेपछि उमेर हदका कारण अनिवार्य अवकाश लिनुभएको हो । २०४६ सालमा काम शुरु गर्दा उहाँलाई अप्ठ्यारोसँगै लाज र डर लाग्यो । ग्रामीण स्वास्थ्य कार्यकर्ता पर्शुराम रानाले दिदी आउनू, तपाईको नाम राखेँ है भनेर बोलाउनुभएको थियो । मैले पढेको छैन भन्दा उहाँले पढ्नु पर्दैन भन्दै २ दिनको तालीम लिएर स्वास्थ्य स्वयम्सेविका हुनुभएको थियो ।
धेरै पटक तालीम गोष्ठीमा सहभागी भएर आफूलाई निखार्दै लगेर काममा धेरै लगनशील भएकाले नै होला शोभा दिदी नभई गाउँमा महिलाले अरुको विश्वास गर्दैन थिए । आफूले पोलियो थोपा खुवाएका नानीहरू इन्स्पेक्टर भए, जागिरे भए, अमेरिका गए भनेको सुन्दा उहाँलाई खुशी लाग्छ । रुवाउँदै खोप लगाएका नानीहरूको प्रगति देखेर सन्तोष मान्ने उहाँ आफूले जीवनभर पुण्यको काम गरेकाले धर्मका लागि कुनै तीर्थव्रत गर्नु नपर्ने बताउनुहुनछ । ‘मानिसहरू तीर्थव्रत गर्न भारतसम्म जाने गर्छन् तर मजस्ता महिला स्वयमसेविका कुनै तीर्थ जानुपर्दैन । हामीले गर्ने सेवा नै सबैभन्दा ठूलो धर्म हो । अरु व्रत र धर्म के गर्नु ? म यो कामबाट खुशी छु’, उहाँ गर्वका साथ सुनाउनुहुन्छ ।
सुन्दरहरैंचा ९ को मुस्लिम बस्तीमा जनचेतना जगाउन जाँदा उहाँ एकै ठाउँमा रोपिएको तर गोडमेल नगरेकाले कक्रिएको मुला र गोडमेल गरिएकाले सप्रिएको मुलाको तस्बिर देखाएर परिवार नियोजनसम्बन्धी चेतना जगाउनुहुन्थ्यो । धेरै बच्चा हुँदा स्याहार पुग्दैन भन्दै दिनभर सबैलाई एकै ठाउँमा भेला बनाएर विभिन्न कुरा निकाल्दै परिवार नियोजन गर्न प्र्रेरित गर्नुहुन्थ्यो ।
सासू भएको घरमा उहाँलाई आँगनसम्म टेक्न नदिने समुदायमा पनि कतिपयले लुकेर डिपो, संगिनीलगायतका गर्भनिरोधक सुइहरू लगाउँथे । उहाँले मुस्लिम समुदाय भएको बस्ती, बङ्गाली टोल र ऋषिदेव समुदायको बस्तीमा चेतना फैलाइरहनुभयो । मासिक ४० रुपैयाँमा काम शुरु गर्नुभएकी उहाँले मासिक २ हजारसम्म लिनुभयो । तर बाटोबाटोमा भेट्दा शोभा दिदी भन्दै झ्यामिँदा उहाँलाई ज्यादै खुशी लाग्छ । अहिले पनि उहाँ घरघरमा गएर गर्भवती आमाहरूलाई र सुत्केरी आमाहरूलाई सल्लाह दिनुहुन्छ ।
शोभा दिदीको साहसी काम स्याबास दिन लायक छ ।
सम्बन्धित समाचारहरू
आधा दर्जन व्यवसाय हाँकिरहेकी सफल व्यवसायी मनिता दंगाल (नारी दिवस विशेष ९)
मनोविमर्शकर्ता सुशीला सुवेदी, पाठक (नारी दिवस विशेष ८ )
अपाङ्गता भएका व्यक्तिको हकहितका लागि सक्रिय भीमा खतिवडा (नारी दिवस विशेष ७)
मीना चौधरीः ३५ वर्ष एउटै विद्यालयमा प्रधानाध्यापक (नारी दिवस विशेष ५)
हौसला र प्रेरणाको साथमा अघि बढेकी नीलम ढुङ्गाना (नारी दिवस विशेष ४)
समाजसेवा, शिक्षण र सहकारी व्यवस्थापन सँगसँगै गर्ने योजना शर्मा (नारी दिवस विशेष ३)







