खेमचन्द्र अधिकारी
विराटचोकः सानैदेखि नाच्ने रहर भएकी नीलम ढुङ्गानालाई एउटा अकल्पनीय दुर्घटनाले फरक क्षमताको चर्चित नृत्यकार बनाइदियो । सुन्दरहरैंचा–५ की नीलम ढुङ्गाना आफ्नो नृत्यका कारण देशविदेशमा चर्चित हुनुुहुन्छ । आत्मबल दरो हुने हो र उचित वातावरण पाउने हो भने अपाङ्गता भएका व्यक्तिले पनि विश्व हल्लाउन सक्छन् भन्ने उदाहरण उहाँले दिन सक्नुभएको छ ।
२०७३ सालमा नेपाल सरकारको राष्ट्रिय युवा प्रतिभा पुरस्कारबाट सम्मानित हुनुभएकी ढुङ्गानाको सफलताको यात्राको बाटो भने कहालीलाग्दो छ । २०६४ सालमा घरबाट इटहरी स्कुल हिँडेकी नीलम र उहाँकी साथीलाई इटहरी र सुन्दरहरैंचाको सिमानामा रहेको बुढी खोलाको पुलमा ट्रकले ठक्कर दियो । साथीको घटनास्थलमै ज्यान गयो भने उहाँले एउटा खुट्टा गुमाउनुप¥यो ।
पुलको रेलिङ समाउँदै हिँडिरहेको बेला पछाडिबाट आएको ट्रकले ठक्कर दिँदा रेलिङमा च्यापियो । लगत्तै मानिसहरू आएर उद्धार गर्दा पनि उहाँ बेहोश हुनुभएको थिएन । दुर्घटनामा आफ्नो खुट्टा चुँडिएको देख्नासाथ उहाँले आफ्ना नाच्ने दिन सकिएको ठान्नुभयो । धरानस्थित बीपी कोइराला स्वस्थ्य विज्ञान प्रतिष्ठानमा ३ महिना उपचार गरेपछि उहाँ घर फर्किनुभयो । एसएलसी परीक्षा भने उहाँले अस्पतालबाटै दिनुभयो । इटहरीको सुषमा गोदावरी कलेजबाट १२ कक्षा उत्तीर्ण गर्नुभयो ।
दुर्घटनामा परेर अपाङ्गता भएकै कारण परिवार र समाज कतैबाट पनि विभेद नभोगे पनि एउटा खुट्टा गुमाएपछि नीलमलाई अब जीवनमा केही गर्न सकिँदैन जस्तो लागेको थियो । दुर्घटना भएकै बेला नृत्यको भविष्य सकियो भन्ने लागे पनि बुबा दधिराम ढुङ्गानाले सधैँ उहाँलाई हौसला दिइरहनुहुन्थ्यो ।
अपाङ्गता भएका व्यक्तिहरूको हकहितको लागि काम गर्ने अभियानकर्मी भीमा खतिवडा र मीना आचार्यको सम्पर्कमा नीलम पुगेपछि उहाँहरूको हौसला र प्रेरणाले गर्दा बिस्तारै नीलम पनि अपाङ्गता भएका व्यक्तिहरूको अधिकारका लागि काम गर्न थाल्नुभयो । साबिक दुलारी गाविसमा अपाङ्गता भएका व्यक्तिहरूको समूहको अध्यक्ष भएर काम गर्दै जाँदा विभिन्न सामाजिक व्यक्तित्वहरूसँग भेट हुँदै गयो । जसले गर्दा काम गर्ने ऊर्जा थपिँदै गयो । सन् २०१३ को डिसेम्बरमा अपाङ्गता दिवसको अवसरमा अपाङ्गता भएका व्यक्तिहरूको विराटनगरमा भएको कार्यक्रममा सबै क्षेत्रका अपाङ्गता भएका व्यक्तिहरूले आफ्नो कला देखाउनुपर्ने भयो ।
निराश हुँदै उहाँले ‘म त केही गर्न सक्दिनँ । पहिले त म पनि नाच्थेँ’ भनेपछि सबैले अब तिमीले नाच्नुपर्छ भन्न थाले । केही दिनको छोटो तयारीपछि खुट्टा कमाउँदै स्टेजमा चढेर चलचित्र माइतीघरको ‘वसन्त नै बस्न खोज्छ यहाँ लोलाएर ….’ बोलको गीतमा एउटा खुट्टाले पहिलो पटक नाच्नुभयो । त्यो नाचेको भिडियो सामाजिक सञ्जालमा भाइरल नै भयो । त्यसपछि विराटनगरको महोत्सवमा उनले नृत्य देखाउनुभयो ।
त्यसपछि बिस्तारै पूर्वका विभिन्न ठाउँमा उनलाई बोलाउन थालियो । बिस्तारै देशभरका विभिन्न ठाउँमा बोलाउन थालियो । देशभर हुँदै अष्ट्रेलिया, बेलायत, मलेसिया, हङकङ, कतारलगायतका ठाउँमा पनि नृत्य गर्न पुग्नुभयो । देशका मेला र महोत्सवमा भ्याइनभ्याइ हुन थाल्यो ।
उहाँको जीवनमा आधारित ‘नीलम’ भन्ने छोटो फिल्म पनि बनेको छ । काठमाडांैको फिनिक्स कलेजबाट स्नातकोत्तर तहको पढाइ पूरा गर्नुभएकी उहाँ नेपालको एउटा चर्चित पाँचतारे होटल हायातमा मानव स्रोत संशाधन प्रमुखको रुपमा कार्यरत हुनुहुन्छ ।
सम्बन्धित समाचारहरू
समाजसेवा, शिक्षण र सहकारी व्यवस्थापन सँगसँगै गर्ने योजना शर्मा (नारी दिवस विशेष ३)
सुन्दरहरैंचाकी साहसी नारी रोसा बस्नेत (नारी दिवस विशेष २)
नेपालकै दोस्रो होची महिला मालती ऋषिदेव (नारी दिवस विशेष १)







