Friday, December 5, 2025
Homeपर्यटनसुन्दरहरैंचाकी साहसी नारी रोसा बस्नेत (नारी दिवस विशेष २)

सुन्दरहरैंचाकी साहसी नारी रोसा बस्नेत (नारी दिवस विशेष २)

खेमचन्द्र अधिकारी
विराटचोकः ‘साहस ठूलो कि शक्ति (बल) ठूलो ?’ भन्ने प्रश्नको भाव कतिपयलाई एउटै लाग्न सक्छ । साहस भित्रैदेखि आउने तर शक्ति बाहिरबाट आउने भएकाले साहस ठूलो हुन्छ । त्यसैले शक्तिशालीले गर्न नसक्ने काम साहसीले गर्न सक्छ । जसको ज्वलन्त उदाहरण हुनुहुन्छ रोसा बस्नेत । तराईमा जन्मिएकी महिलाले सगरमाथा चढ्ने आँट गर्नु शक्तिको होइन साहसको प्रतीक हो । त्यसैले त उहाँ सफल हुनुभयो । हिमाली क्षेत्रमा जन्मिएका शक्तिशाली र बलवान व्यक्तिले गर्न नसक्ने काम उहाँले पूरा गरेर देखाउनुले उहाँको साहसीपनलाइ छर्लङ्ग पार्छ ।

रोसा बस्नेत सञ्चारकर्मी हुनुहुन्छ । सुन्दरहरैंचा–१० निवासी बस्नेत सुन्दरहरैंचाकी सबैभन्दा साहसी महिला हुनुहुन्छ । १ सय मिटर अग्लो डाँडो चढ्नुप¥यो भने हिम्मत हार्नेका अगाडि त्स्ता १ सय मिटर ८८ पटक गुणन गर्नुपर्ने विश्वकै अग्लो चुचुरो आरोहण गर्नु चानचुने होइन । उनको पुस्ता हिमाल त पर भयो, पहाड वा चुरेको फेदीसम्म नपुगेको पनि हुन सक्छ । तर सरकारी समाचार एजेन्सी राष्ट्रिय समाचार समिति (रासस) को अङ्ग्रेजी समाचार विभागकी सम्पादक बस्नेतले त्यस्तो हिम्मत गर्नुभयो जुन हिम्मत सुन्दरहरैंचाका कुनै पनि पुरुष र महिलाले हालसम्म गर्न सकेको छैन । त्यसैले सुन्दरहरैंचाको एक्लो सगरमाथा आरोहीको उपाधि उहाँले अरुसँग बाँड्नुपरेको छैन ।

उहाँका अनुसार सगरमाथा चढ्ने क्रममा जतिजति माथि पुग्यो उतिउति नै कम शब्द मन मष्तिष्कमा आउँथे । आफू जाँदै गरेको ठाउँ पृथ्वीको सबैभन्दा अग्लो ठाउँ भएको सम्झिँदा उहाँ त्यसै रोमाञ्चित हुनुहुन्थ्यो । महिला भएर पनि केही गर्न सक्छन् भन्ने सन्देश दिन र पुरुष पुग्ने ठाउँमा महिला पनि पुग्न सक्षम छन् भन्ने उदाहरण दिन पनि सगरमाथा चढेको बताउने उहाँ सगरमाथालाई शक्तिको स्वरूप मान्नुहुन्छ ।

सगरमाथासम्बन्धी सबै समाचार गर्ने जिम्मा पाएकी बस्नेत सगरमाथालाई शक्तिको स्वरूप मान्नुहुन्थ्यो । उहाँका गाइड दाकिपा शेर्पा हुनुहुन्थ्यो । जो सगरमाथालाई आकाशकी देवी मान्ने शेर्पा समुदायको हुनुहुन्थ्यो । बस्नेतलाई सगरमाथा चढ्ने सोच सानैदेखि आउँथ्यो । राससमा समाचार सम्पादन गर्ने क्रममा विश्वकै पहिलो महिला सगरमाथा आरोही जुनको तावेइको देहान्त भएको समाचार पढेपछि उहाँलाई आफ्नो साथी नै गुमाएजस्तो खल्लो महसुस भएको थियो । जुनको ताबेइ एक दुइ वर्ष बढी बाँचेकी भए उनलाई भेट्न र अनुभव सुन्न पाउँथेजस्तो बस्नेतले ठान्नुभयो ।

रोचक त के छ भने बस्नेतका जीवनका कतिपय घटनाको संयोग हिमाल वा सगरमाथासँग जोडिन्छ । उहाँको भाइको नाम पर्वत हो । आफू ३ वर्षको हुँदा जन्मिएको भाइ २७ वर्षको हुँदा रोसाले सगरमाथामा पाइला राख्नुभयो । रोसाले अध्ययन गरेको स्कुलमा एउटा हिमालय सेकेण्डरी बोर्डिङ स्कुल न्युरोड हो । त्यसो त उहाँले सुकुना मावि सुन्दरहरैंचामा पनि अध्ययन गर्नुभयो । उहाँले पढेको कलेजनको नाम सगरमाथा मल्टिपल कलेज हो ।

सगरमाथामा पाइला राख्न त्यत्ति सजिलो थिएन । जसका लागि उहाँले ४१ दिन लगातार आरोहण अभ्यास गर्नुभयो । सो अभ्यासका क्रममा म हिमाल चढ्न सक्दिनँ कि भनेर कहिल्यै पनि सोच्दै सोच्नुभएन । जसका कारण पृथ्वीको अग्लो चुचुरोमा पुगेर वरीपरी देखिएका सबै हिमाललाई पालैपालो ढोग्न पाउनुभयो । त्यसपछि उहाँले शिवलिङ्ग निकालेर प्रतिस्थापन गरेपछि आफ्नो गाइड शेर्पालाई धन्यवाद दिएपछि संसारकै अग्लो चुचुरोमा बसेर केही तस्बिर खिच्नुभयो । जुन दिन थियो २०७५ साल जेठ ९ गते बिहान ।

सगरमाथा चढ्नुभन्दा १ महिना अघिदेखि उहाँ लगातार हिमालको काखमा हिँडिरहनुभयो । फलस्वरुप सगरमाथा चढेर आएपछि केही दिनसम्म एकान्तमैत्री हुनुभयो । जे होस् आफू कार्यरत कार्यालयले पूर्ण सहयोग गर्नुका साथै मनोबल बढाउने साथी तथा नायिका मनिषा कोइराला र पूर्व प्रधानसेनापति रुक्माङ्गत कटुवाललाई उहाँले आजीवन भुल्नुहुनेछैन । किनकि सगरमाथा आरोहण सफल हुनुमा उहाँहरुको हौसला तथा आर्थिक सहयोग महत्वपूर्ण साबित भए ।

सलाम छ सुन्दरहरैंचाकी साहसी चेली रोसा बस्नेतलाई ।

सम्बन्धित समाचारः

नेपालकै दोस्रो होची महिला मालती ऋषिदेव (नारी दिवस विशेष १)

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments