विराटचोकः अस्वभाविक मूल्य राखेर आईपीओ बिक्री गर्न खोजेको उजुरीपछि रिलायन्स स्पिनिङ मिल्सको बुक बिल्डिङ विधिबाट आईपीओ रोकिएको लामो समय बिते पनि थप प्रक्रिया अझै अनिश्चित बनेको छ ।
आईपीओ निश्कासन गर्ने मिति तोकिसकेको अवस्थामा चलखेलबाट स्वीकृति दिएको विषयमा तीव्र विरोध भएपछि अन्तिम अवस्थामा स्थगन गर्नुपरेको थियो । संसदको सार्वजनिक लेखा समितिको हस्तक्षेपपछि प्रक्रिया स्थगित भएको थियो ।
बोर्डले यो विषयमा थप अध्ययन गरिएको दाबी गरेर प्रतिवेदन नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)लाई दिई थप अनुसन्धान गर्न भनेको थियो । बोर्डले आफूले प्रतिवेदन दिँदा रिलायन्सको आईपीओ निश्कासन तथा स्वीकृतिको प्रक्रियामा कुनै कैफियत नभएको प्रतिवेदन दिएपछि सीआईबीले समेत सोही प्रतिवेदनलाई सदर गरेको थियो ।
बोर्ड र सीआईबीबाट विषयको छिनोफानो नभएपछि सो आईपीओको विषयमा अब अदालतले नै छिनोफानो गर्ने भएको छ । आज भदौ १२ गते रिलायन्सको आईपीओको विषयमा परेको मुद्दाको अदालतमा पेशी रहेको छ ।
लगानीकर्ताले बुक बिल्डिङ विधिमा न्यूनतम ५० कित्ता भर्नैपर्ने नियम सर्वसाधारणमैत्री र नेपालको आईपीओको अवधारणाविपरीत भएको आरोप लगाएका छन् । कम्पनीलो आईपीओ निस्कासन गर्दा तोकेको मूल्य अत्यधिक रहेको र विभिन्न पक्षको मिलेमतोमा आईपीओको नाममा सर्वसाधारणलाई लुट्न यस्तो योजना बनाइएको समेत आरोप लाग्ने गरेको छ ।
कम्पनीले विद्युत उपभोगको ७३ करोड रुपैयाँ नै तिर्न बाँकी रहेको अवस्थामा कम्पनीले कुनै पनि भवितब्य दायित्वलाई प्रोभिजनिङ नगरेको र सो बक्यौता रकमसम्बन्धी मुद्दा कम्पनीले हारेमा कम्पनीले पैसाको जोहो कसरी र कुन स्रोतबाट गर्छ भन्नेमा लगानीकर्ताले चासो व्यक्त गरेका छन् ।
धितोपत्र बोर्डले रोक्यो रिलायन्स स्पिनिङको आइपीओ
रिलायन्ससहित ३ कम्पनीको बिजुली काट्यो प्राधिकरणले
सुनसरीको रिलायन्स स्पिनिङ मिल्सले असार २७ गतेदेखि आईपीओ बिक्री गर्ने