काठमाडौं । एपोलो हाइड्रोपावर लिमिटेडले सामुहिक लगानी कोषका लागि छुट्याइएको ४७ हजार कित्ता साधारण शेयरको लकइन अवधि आज कात्तिक १० गतेपछि समाप्त हुने भएको छ ।
कम्पनीले नेपाल स्टक एक्सचेञ्ज (नेप्से), नेपाल धितोपत्र बोर्ड र सीडीएस एण्ड क्लियरिङ लिमिटेडलाई जानकारी गराउँदै सामुहिक लगानी कोषलाई बाँडफाँड गरिएको शेयरको ६ महिनाको लकइन अवधि सकिन लागेको जनाएको हो ।
कम्पनीले सर्वसाधारणका लागि निष्कासन गरेको कुल ९ लाख ४० हजार कित्ता साधारण शेयरमध्ये ५ प्रतिशत अर्थात् ४७ हजार कित्ता सामूहिक लगानी कोषका लागि छुट्याएको थियो ।
धितोपत्रसम्बन्धी व्यवस्थाअनुसार सामुहिक लगानी कोषलाई बाँडफाँट गरिएको शेयर बाँडफाँट भएको मितिले ६ महिनासम्म लकइनमा राख्नुपर्ने हुन्छ । सोही व्यवस्थाअनुसार कम्पनीको सामुहिक लगानी कोषको स्वामित्वमा रहेको ४७ हजार कित्ता शेयरको लकइन अवधि आज सकिने भएको हो ।
लकइन अवधि सकिएसँगै भोलिदेखि ती शेयर दोस्रो बजारमा कारोबार गर्न सकिनेछ ।





