Monday, October 26, 2026
Homeखेलकुदडिफेन्डिङ च्याम्पियन लुम्बिनीको सुदूर पश्चिममाथि शानदार जीत

डिफेन्डिङ च्याम्पियन लुम्बिनीको सुदूर पश्चिममाथि शानदार जीत

काठमाडौं । साविक विजेता लुम्बिनी लायन्सले तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)मा विजयी सुरुआत गरेको छ । त्रिवि क्रिकेट मैदानमा सुदूरपश्चिमले दिएको ८८ रनको सामान्य लक्ष्य लुम्बिनीले ९ ओभर ५ बलमा ३ विकेट गुमाएर पूरा गरेको हो ।

लुम्बिनीको जीतमा ओपनर डार्सी सर्टले सर्वाधिक ४० रन बनाएका थिए । उनले १८ बलमा ४ चौका र ३ छक्का प्रहार गरेका थिए । उनले आसिफ शेखसँग पहिलो विकेटका लागि ७१ रनको साझेदारी गरेका थिए । आसिफ ३२ रनमा आउट भएका थिए । निरोशन डिक्वेला ७ रनमा बोल्ड हुँदा शमिम हुसेन एक र कप्तान रोहित पौडेल ५ रनमा अविजित रहेका थिए ।

बलिङमा सुदूरपश्चिमका अनिल खरेलले दुई र कप्तान दीपेन्द्रसिंह ऐरीले एक विकेट लिएका थिए ।

त्यसअघि टस हारेर पहिला ब्याटिङ गरेको सुदूरपश्चिम १७ ओभर २ बलमा ८७ रनमा समेटिएको थियो । लुम्बिनी लायन्सका शेर मल्ल र किशोर महतोले उत्कृष्ट प्रदर्शन गरेका थिए । किशोरले ४, शेरले ३ विकेट लिँदा कप्तान रोहित पौडेल, तिलकराज भण्डारी र शाड्ली भान शाकवाइकले एकएक विकेट लिएका थिए ।

सुदूरपश्चिमका लागि कप्तान दीपेन्द्रसिंह ऐरीले सर्वाधिक २७ रन बनाए । विनोद ९, सैफ जैव १३, ब्रान्डन म्याकमुलेन २ र इशान पाण्डे ७, शेर्फन रदरफोर्ड एक, स्कुट कुइगेलेइन र हेमन्त धामी कुनै पनि रन नजोडी आउट हुँदा अनिल खरेल १७ रनमा अविजित रहेका थिए ।

भोलि एनपीएलका दुई खेल हुनेछन् । पहिलो खेल दिउँसो साढे १२ बजे विराटनगर किंग्स र चितवन राइनोजबीच हुनेछ ।

दोस्रो खेल साँझ ५ बजे कर्णाली याक्स र जनकपुर बोल्ट्सबीच हुनेछ ।

प्रतियोगिताको उद्घाटन प्रधानमन्त्री बालेन्द्र शाहले गरेका थिए ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments