काठमाडौं । नेपाली कांग्रेसको १५औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिका पदाधिकारी र सदस्यहरूको शपथ ग्रहण समारोह बिहीबार हुने भएको छ ।
केन्द्रीय निर्वाचन समितिले असोज अन्तिम साता सम्पन्न १५ औं महाधिवेशनबाट निर्वाचित सभापतिबाहेकका पदाधिकारी र सदस्यहरूको शपथ ग्रहण समारोह बिहीबार गर्ने भएको हो ।
निर्वाचन समितिका सदस्य सचिव राजु कटुवालले बिहीबार दिउँसो २ बजे कांग्रेसको केन्द्रीय कार्यालयमा शपथ ग्रहण समारोह आयोजना गरिने जानकारी दिएका छन् ।
निर्वाचन समितिले सोमबार सूचना प्रकाशित गरेर महाधिवेशनबाट निर्वाचन पदाधिकारी र केन्द्रीय सदस्यहरूलाई शपथ ग्रहण समारोह उपस्थितिका लागि निमन्त्रणा गरेको छ ।
१५ औं महाधिवेशनबाट सभापतिमा निर्वाचित गगनकुमार थापाले फूलपातीका दिन शपथ ग्रहण र पदबहाली गरेका थिए ।





