विराटचोकः पछिल्लो समय मोरङको सुन्दरहरैंचाका विभिन्न क्षेत्रका व्यक्तिहरुले सञ्चार क्षेत्रको महत्वलाई आत्मसात गरेको अनुभव सञ्चारकर्मीले गर्न थालेका छन् । सञ्चारकर्मीलाई सामाजिक रुपमा अझ उत्तरदायी बनाउन विभिन्न संघसंस्थाले सञ्चारकर्मीलाई सम्मान गर्न थालेका छन् ।
विगत ५ महिनाको तथ्याङ्क हेर्दा तीन जना सञ्चारकर्मीलाई योगदानको आधारमा सम्मान गरिएको छ । लेखनको माध्यमबाट जनतालाई सुसूचित गर्दै सामाजिक दायित्व बहन गरेको भन्दै सञ्चारकर्मी सम्मानको क्रम शुरु भएको देखिन्छ ।
पुस १७ यता तीन जना सञ्चारकर्मी सम्मानित
सन् २०२५ को पाँच महिनाको अवधिमा तीन जना सञ्चारकर्मी सम्मानित भएका छन् । सन् २०२५ को पहिलो दिन विश्वकै प्रतिष्ठित संस्थाको रुपमा रहेको जेसीजको स्थानीय शाखा इन्द्रपुर जेसीजले सञ्चारकर्मी खेमचन्द्र अधिकारीलाई नगद ५ हजारसहित प्रमाणपत्र, दोसल्ला र सम्मानपत्रले सम्मान गरेको थियो ।
त्यसको १५ दिन नबित्दै अर्काे अन्तर्राष्ट्रिय संस्था रेडक्रसको स्थानीय शाखा सुन्दरपुर शाखाले सञ्चारकर्मी कृष्णचन्द्र सुवेदीलाई नगद २ हजारसहित प्रमाणपत्र, दोसल्ला र सम्मानपत्रले सम्मान गरेको थियो ।
हिजो बैशाख २६ गते सुबीजीमुर मेमोरियल सेकेण्डरी स्कुलले सञ्चारकर्मी मणिराम दाहाललाई नगद १० हजारसहित प्रमाणपत्र, दोसल्ला र सम्मानपत्रले सम्मान गरेको छ ।
यसअघि पनि कहिलेकाहीँ विभिन्न क्षेत्रले सञ्चारकर्मीलाई सम्मान गरेको पाइन्छ । यीबाहेक केही संघसंस्थाले भने सञ्चारकर्मीको दबाबमा वा धम्कीमा पनि सम्मान गर्नुपरेको बताउने गरेका छन् ।
सरकारी क्षेत्र सञ्चारकर्मीको सम्मानमा मौन
गैर सरकारी क्षेत्रले सञ्चारकर्मीलाई सम्मान गर्ने परिपाटी शुरु गरे पनि सुन्दरहरैंचाको सरकारी क्षेत्र भने मौन रहेको छ । यद्यपि सुन्दरहरैंचा नगरपालिकाले सञ्चार कार्यविधि पारित गरे पनि लागू गर्न भने सकेको छैन । गत माघमा पारित सो कार्यविधिमा नगरभित्रका सबै सञ्चारगृहलाई समान रूपमा विज्ञापन उपलब्ध गराउने उल्लेख छ । हाल नगरपालिकाले केही सञ्चार संस्थालाई मासिक वा द्वैमासिक रुपमा लोककल्याणकारी विज्ञापनको रकम भुक्तानी गर्ने गरेको छ भने केही सञ्चार संस्थालाई वर्षमा एक पटक पनि विज्ञापनको भुक्तानी गरेको छैन ।
गैर सरकारी क्षेत्रले जस्तो नगरपालिकाले हालसम्म कुनै पनि सञ्चारकर्मीलाई सम्मान गरेको छैन ।
अन्य संघसंस्था पनि उदासीन
नगरपालिकामात्रै होइन नगरका अन्य धेरै क्षेत्र सञ्चारकर्मीको सम्मानमा उदासीन देखिन्छन् । सुकुना बहुमुखी क्याम्पस, पूर्वाञ्चल विश्वविद्यालय, प्याब्सन, एन प्याब्सन, उद्योग वाणिज्य संघ, सामुदायिक तथा साझेदारी वन, साना शहरी तथा अन्य खानेपानी आयोजना, सहकारीका नगर वा जिल्ला समिति, लायन्स क्लब, साहित्यिक संघसंस्था, ठूला उद्योग, तारे होटललगायतले सञ्चारकर्मीलाई सञ्चार क्षेत्रमा थप उत्तरदायी बनाउन सम्मानको नीति लिएमा समाजलाई घाटा हुन्छजस्तो लाग्दैन ।
सम्बन्धित समाचारहरू
इन्द्रपुर जेसीजको पदस्थापनमा शिखरबास खबरका सम्पादकसहित ६ जनालाई अवार्ड प्रदान
सञ्चारकर्मी कृष्णचन्द्र सुवेदी रेडक्रसको साधारणसभामा सम्मानित
सञ्चारकर्मी मणिराम दाहाललाई सुविजीमुरको सम्मान