काठमाडौंः हरेक वर्षझैँ नेपाल प्रज्ञा–प्रतिष्ठानले आफ्नो वार्षिकोत्सवको अवसरमा राष्ट्रिय कविता महोत्सव गर्ने भएको छ । प्रतिष्ठानको ६८ औँ वार्षिकोत्सवको अवसरमा असार ९ गते राष्ट्रिय कविता महोत्सव हुने भएको हो ।
प्रतिष्ठानद्वारा जारी गरिएको प्रेस विज्ञप्तिअनुसार, जेठ २० गतेभित्र कविहरूले आफ्ना मौलिक रचनाहरू प्रज्ञा प्रतिष्ठानमा प्रत्यक्ष रूपमा वा इमेलमार्फत पठाउन सकिने र मातृभाषामा लेखिएका कविताहरूको नेपाली अनुवाद अनिवार्य पठाउनुपर्ने उल्लेख गरिएको छ ।
प्रतिष्ठानले उत्कृष्ट १० कविता छनोट गरी प्रत्येक कविलाई रु. ४० हजार नगद पुरस्कार र कदरपत्र प्रदान गर्ने जनाएको छ । प्रतियोगितामा सहभागी हुन चाहने कविहरूले आफ्नो पूरा नाम, ठेगाना, हालसालै खिचिएको पासपोर्ट साइजको फोटो र सम्पर्क नम्बर अनिवार्य रूपमा पठाउनुपर्ने उल्लेख छ ।
महोत्सवका लागि पूर्णतः मौलिक र यसअघि कुनै पनि माध्यमबाट प्रकाशित नभएका कविताहरू मात्र स्वीकार गरिने प्रतिष्ठानले जनाएको छ ।