Wednesday, November 25, 2026
Homeअर्थकन्याममा पहिलो सूर्योदय चिया महोत्सव सम्पन्न

कन्याममा पहिलो सूर्योदय चिया महोत्सव सम्पन्न

इलामः इलामको सूर्योदय नगरपालिका–७ कन्याममा पहिलोपटक आयोजना गरिएको सूर्योदय चिया महोत्सव चिया पर्यटन र निर्माणाधीन चिया पदमार्गको प्रवद्र्धनमा जोड दिँदै सम्पन्न भएको छ ।

दुई दिनसम्म सञ्चालन भएको महोत्सवले चियाखेती, पर्यटन, स्थानीय उत्पादन र सांस्कृतिक पहिचानलाई एकै ठाउँमा जोड्ने प्रयास गरेको आयोजकले जनाएको छ ।

कन्यामको हुर्हुरेमा तीनवटा चियाका बिरुवा रोपेर शनिबार शुरु भएको महोत्सवमा चिया पर्यटनको विकास, बजारीकरण, जलवायु परिवर्तनले चियाखेतीमा पारेको प्रभाव तथा किसानका समस्या र सम्भावनाबारे छलफल गरिएको थियो । सूर्योदय नगरपालिका, कोशी प्रदेश सरकार र पदमार्गमा आधारित पर्यटन विकास परियोजनाको साझेदारीमा महोत्सव आयोजना गरिएको हो ।

कोशी प्रदेशका पर्यटन, वन तथा वातावरणमन्त्री खिनु लङ्वाले इलामलाई महत्वपूर्ण पर्यटकीय गन्तव्यका रूपमा विकास गर्न सकिने बताइन् । प्राकृतिक सौन्दर्य, चियाखेती, जैविक विविधता र सांस्कृतिक सम्पदालाई पर्यटनसँग जोड्न सके इलामको पर्यटन प्रवद्र्धनमा सहयोग पुग्ने उनको भनाइ थियो ।

महोत्सवमा नेपाल पर्यटन बोर्डका पूर्वसदस्य कृष्ण शाहले ‘चिया र पर्यटन’ विषयमा प्रस्तुति दिएका थिए । कार्यक्रममा राई, नेवार, तामाङ र लाप्चा समुदायका सांस्कृतिक झाँकी, पञ्चेबाजा, मौलिक भेषभूषा तथा परम्परागत खानाका परिकार प्रस्तुत गरिएको थियो । सूर्योदय क्षेत्रमा उत्पादित विभिन्न ब्रान्डका चियाको प्रदर्शनी तथा स्वाद परीक्षणसमेत गरिएको थियो । महोत्सवमा १२ वटाभन्दा बढी स्टल राखिएका थिए ।

महोत्सवको दोस्रो दिन पुरुष र महिलातर्फ छुट्टाछुट्टै टी ट्रेल रेस प्रतियोगिता सञ्चालन गरिएको थियो । कार्यक्रम व्यवस्थापन समितिका सचिव खेम राईका अनुसार पुरुषतर्फ १२ दशमलव पाँच किलोमिटर र महिलातर्फ नौ किलोमिटर दूरीको प्रतियोगितामा ११० जनाले सहभागिता जनाएका थिए ।

प्रतियोगितामा पुरुषतर्फ प्रथम, दोस्रो र तेस्रो हुनेले क्रमशः ३० हजार, २० हजार र १० हजार रुपैयाँ तथा महिलातर्फ प्रथम, दोस्रो र तेस्रो हुनेले क्रमशः २० हजार, १० हजार र ५ हजार रुपैयाँ पुरस्कार पाएका थिए ।

दोस्रो दिन ‘जलवायु परिवर्तनको सामनाः दिगो चियाखेती र चिया कृषकको जगेर्ना’ विषयमा अन्तरसंवाद गरिएको थियो । अन्तरसंवादमा प्रतिनिधिसभा सदस्य निश्कल राई, संघीय सरकारका पर्यटन सचिव मुकुन्दप्रसाद निरौला, कृषि सचिव राजेन्द्रप्रसाद मिश्र र सूर्योदय नगरपालिकाका कार्यवाहक प्रमुख दुर्गाकुमार बराल सहभागी हुनुहुन्थ्यो । कार्यक्रममा जलवायु परिवर्तनका कारण चियाखेतीमा देखिएका चुनौती, दिगो खेती प्रणाली र किसानको संरक्षणका विषयमा छलफल गरिएको थियो ।

कार्यक्रम व्यवस्थापन समिति संयोजक एवं सूर्योदय नगरपालिका–१० का वडाध्यक्ष पेमा उगेन लामाले चिया पर्यटन प्रवद्र्धन र निर्माणाधीन चिया पदमार्गको प्रचारप्रसार गर्ने उद्देश्यले महोत्सव आयोजना गरिएको जानकारी दिनुभयो ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments