गोठगाउँः सुन्दरहरैंचा नगरपालिकाले चालु आर्थिक वर्षको सार्वजनिक सुनुवाइ नगरका तीन विभिन्न ठाउँमा सम्पन्न गरेको छ । सबै सार्वजनिक सुनुवाइमा सहभागीको एउटै प्रश्न हुन्थ्यो किन नगरवासीको कम उपस्थिति ?
आज वडा नम्बर १, २, ७ र ११ को सार्वजनिक सुनुवाइ सुन्दरहरैंचा ११ स्थित साना किसान कृषि सहकारी संस्था मृगौलियाको सभाकक्षमा भएको थियो । सार्वजनिक सुनुवाइमा आज पनि प्रश्नकर्ताले कार्यक्रममा नागरिकको कम उपस्थिति हुनुको कारण सोधे । नगरवासीको जिज्ञासाको जवाफ दिनुहुँदै नगरप्रमुख केदारप्रसाद गुरागाईँले भन्नुभयो, ‘तपाईँ किन एक्लै आउनुभएको ? आज चाहिँ मेयरलाई दह्रो प्रश्न सोध्ने हो भन्दै आफूले प्रश्न सोधिसकेपछि ताली बजाउने मान्छे पनि लिएर आउनुहोस् न ।’
सार्वजनिक सुनुवाइको लागि नगरपालिकाको वेबसाइटमा सूचना प्रकाशन गर्नुको साथै सामाजिक सञ्जालबाट र जिङ्गल बजाएर पनि जानकारी गराइएको उहाँको भनाइ थियो । सधैँ एउटै मिडियालाई दिनुभन्दा यस पटक नयाँ मिडियालाई दिएर नयाँ अनुभव लिन खोजिएको उहाँले बताउनुभयो ।
लगभग ६० जना नगरवासी उपस्थित भएको सार्वजनिक सुनुवाइमा आधाभन्दा बढी कर्मचारी र जनप्रतिनिधि उपस्थित थिए । जवाफ दिनुपर्ने शाखाका शाखा प्रमुख भने आज उपस्थित थिएनन् । सार्वजनिक सुनुवाइ गरिएका वडा कृषि क्षेत्र भए पनि कृषि शाखा र पशुपन्छी शाखाका प्रमुखको उपस्थिति नभएकाले आफूहरुले प्रश्न सोध्न नपाएको वडावासीको भनाइ थियो ।
पशुपन्छी शाखा प्रमुख कार्यक्रममा उपस्थित भए पनि उहाँलाई उत्तरदाताको आसनतर्फ नराखिएकाले नगरवासीले प्रश्न सोध्न नपाएको बताएका थिए । कृषि शाखा प्रमुख कार्यक्रमको शुरुमा उपस्थित हुनुभए पनि कार्यक्रम शुरु हुने बेलामा अर्काे कार्यक्रममा जाने भनी प्रमुख प्रशासकीय अधिकृतसँग बिदा मागेर हिँड्नुभएको थियो ।
सम्बन्धित समाचारहरुः
सुन्दरहरैंचाको सार्वजनिक सुनुवाइमा नगरवासीको न्यून उपस्थिति, अधिकांश कुर्सी खाली (भिडियोसहित)
सुन्दरहरैंचाका ४ वटा वडाको सार्वजनिक सुनुवाइ सम्पन्न
सुन्दरहरैंचा १२ को सार्वजनिक सुनुवाइ सम्पन्न
सुन्दरहरैंचा ५ को सार्वजनिक सुनुवाइ सम्पन्न