दुलारीः सुन्दरहरैंचा नगरपालिकाको सार्वजनिक सुनुवाइअन्तर्गत आज वडा नम्बर ३, ४, ५ र ६ को सार्वजनिक सुनुवाइ सम्पन्न भएको छ । सुन्दरहरैंचा ४ स्थित सिग्देल बन्धु समन्वय प्रतिष्ठानको सभाहलमा भएको कार्यक्रममा १४ जना सहभागीले प्रश्न सोध्नुभएको थियो ।
प्रश्नकर्ताले नगर प्रमुख र उपप्रमुखको विदेश भ्रमण मोह, चुनावमा गरेको वाचाअनुसार काम नभएको असन्तुष्टि, बाटो निर्माण, खोला उत्खनन र तटबन्ध, स्वास्थ्य शाखाले दिएको सेवालगायतको बारेमा प्रश्न सोधेका थिए ।
नगरवासीले सोधेका प्रश्नको नगर प्रमुख केदारप्रसाद गुरागाई, उपप्रमुख अकली चौधरी, प्रमुख प्रशासकीय अधिकृत विनोद न्यौपाने, सम्बन्धित वडाका वडाध्यक्ष, विभिन्न शाखाका शाखाप्रमुख लगायतले जवाफ दिनुभएको थियो ।
टेक मिडिया हाउसको सहजीकरणमा भएको कार्यक्रमको सहजीकरण सञ्चारकर्मी नेत्र अधिकारीले गर्नुभएको थियो ।
सुन्दरहरैंचा नगरपालिकाले यस पटक नगरको तीन ठाउँमा सार्वजनिक सुनुवाइ गर्ने भएको छ । भोलि वडा नम्बर ८, ९, १० र १२ का लागि जेसीज भवनमा दिउँसो १ बजे सार्वजनिक सुनुवाइ हुने नगरपालिकाले जनाएको छ ।