चतरा । सुनसरीको बराहक्षेत्र नगरपालिका–१ स्थित खारखोलामा प्रथम खारखोला गोल्डकप फुटबल प्रतियोगिता आयोजना हुने भएको छ ।
खारखोला फुटबल क्लबको आयोजनामा कात्तिक १६ गतेदेखि शुरु हुने प्रतियोगिताको फाइनल खेल कात्तिक २३ गते लक्ष्मीपूजाका दिन हुने आयोजकले जनाएको छ ।
आयोजक खारखोला फुटबल क्लबका अध्यक्ष सन्तोष श्रेष्ठका अनुसार प्रतियोगितामा सुनसरी, मोरङ र उदयपुरका आठवटा फुटबल क्लबले सहभागिता जनाउनेछन् ।
प्रतियोगितामा आयोजक खारखोला फुटबल क्लब, शान्तिनगर फुटबल क्लब इटहरी, मधेसा फुटबल क्लब इनरुवा, सप्तकोशी फुटबल क्लब बराहक्षेत्र, चक्रघट्टी फुटबल क्लब सुनसरी, चिल्ड्रेन हट एकेडेमी वराहक्षेत्र, उदयपुरको गाईघाट युनाइटेड क्लब र मोरङको पूर्वाञ्चल युनाइटेड फुटबल क्लब सहभागी हुने आयोजक क्लबका सचिव मुनु थापाले जानकारी दिनुभयो ।
प्रतियोगिताको विजेताले १ लाख १ हजार १११ रुपैयाँ र उपविजेताले ५१ हजार १११ रुपैयाँ नगद पुरस्कार प्राप्त गर्नेछन् ।
प्रत्येक खेलका उत्कृष्ट खेलाडीलाई २ हजार १०० रुपैयाँ, विधागततर्फका उत्कृष्ट खेलाडीलाई ५ हजार रुपैयाँ र प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीलाई १० हजार रुपैयाँसहित पदक प्रदान गरिने अध्यक्ष श्रेष्ठले जानकारी दिनुभयो ।
प्रतियोगिता खारखोलास्थित नवनिर्मित खारखोला खेलमैदानमा सञ्चालन हुनेछ । प्रतियोगिताको कुल खर्च करिब नौ लाख रुपैयाँ अनुमान गरिएको छ ।
खारखोलास्थित सामुदायिक वनको भवनमा आयोजित पत्रकार सम्मेलनमार्फत प्रतियोगिताको तयारी, सहभागी टोली, पुरस्कार राशि तथा उद्देश्यबारे जानकारी गराइएको हो ।
आयोजक खारखोला फुटबल क्लबका अध्यक्ष सन्तोष श्रेष्ठको अध्यक्षतामा भएको पत्रकार सम्मेलनमा वराहक्षेत्र नगरपालिका–१ का वडाध्यक्ष किसन थापामगर प्रमुख अतिथि रहनुभएको थियो । कार्यक्रममा पूर्व ’ए’ डिभिजन खेलाडी रोशन श्रेष्ठ, युवराज श्रेष्ठलगायतको उपस्थिति रहेको थियो ।
खारखोला टोलको पहिचान स्थापित गर्ने, स्थानीय खेलाडी उत्पादन गर्ने, खेलकौशल प्रदर्शन गर्ने अवसर प्रदान गर्ने तथा किशोरकिशोरी र युवायुवतीमा बढ्दो लागूपदार्थ दुव्र्यसन न्यूनीकरण गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गर्न लागिएको अध्यक्ष श्रेष्ठले बताउनुभयो ।





