विराटचोकः नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति प्राप्त गरी वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकका लागि आज मंसिर २२ गतेदेखि रिलायन्स स्पिनिङ मिल्स लिमिटेडले आईपीओ निष्काशन गर्ने भएको छ ।
सो कम्पनीले सार्वजनिक निष्काशनका लागि छुट्याइएको साधारण शेयरको १० प्रतिशत अर्थात १ लाख १५ हजार ५९६ कित्ता शेयर निष्काशन गर्न लागेको हो । कम्पनीको प्रतिशेयर अंकित मूल्य १०० रुपैयाँ रहे पनि बुक बिल्डिङमार्फत् आईपीओ बिक्री हुने भएकाले सो कम्पनीको आईपीओ किन्न प्रतिशेयर मूल्य ८२० रुपैयाँ ८० पैसा तोकिएको छ ।
बुक बिल्डिङ्ग निर्देशिका, २०७७ को दफा (१३) को उपदफा (१) बमोजिम बोलकबोल प्रणाली मार्फत आवेदन दिने योग्य संस्थागत लगानीकर्ताहरुलाई ७ लाख ७० हजार ६४० कित्ता शेयर बाँडफाँड गर्दा कटअफ मूल्य ९१२ रुपैयाँ निर्धारण भएको थियो । सो मूल्यमा १० प्रतिशत छुटमा सर्वसाधारणका लागि आईपीओ बिक्री हुन लागेको हो ।
लगानीकर्ताले न्यूनतम ५० कित्ता र अधिकतममा २० हजार कित्ताका लागि आवेदन दिन सक्नेछन् । निष्काशन बन्द छिटोमा मंसिर २५ गते हुनेछ । सो अवधिसम्ममा पूर्ण आवेदन नपरेमा निष्काशन अवधि पुस ७ गतेसम्म लम्बिने कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल लिमिटेडले जनाएको छ ।
लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेका सम्पूर्ण आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका शाखा कार्यालयहरु तथा सिडिएस एण्ड क्लियरिङ्गद्वारा सञ्चालित सफ्टवेयर ‘मेरो शेयर’ अनलाइन प्रयोग गरी सि–आस्बा प्रणाली मार्फत् आवेदन दिन सक्नेछन् ।
रिलायन्स स्पिनिङ मिल नेपालको धागो उत्पादन गर्ने उद्योगहरुमध्ये रोजगारदाता उद्योगको रुपमा पनि सबैभन्दा ठूलो उद्योगको रुपमा रहेको छ । कम्पनीले आफ्नो उत्पादनको ७० देखि ७५ प्रतिशतभन्दा बढी उत्पादनहरु भारत, टर्की, भियतनाम, बेलायतलगायतका विभिन्न मुलुकहरुमा निर्यात गर्दै आएको छ । कम्पनीका अध्यक्ष पवनकुमार गोल्याण र प्रबन्ध सञ्चालक अक्षय गोल्याण हुन् । कम्पनीको उद्योग ईटहरी नगरपालिका वडा नं. १२ खनार, सुनसरीमा रहेको छ ।
योग्य संस्थागत लगानीकर्ताले भने यस कम्पनीको आईपीओ २ वर्ष अघि नै खरीद गरिसकेका छन् । त्यसपछि अदालतमा मुद्दा परेर कम्पनीको आईपीओ निस्कासन प्रक्रिया रोकिएको थियो ।
सम्बन्धित समाचारहरूः
धितोपत्र बोर्डले परमादेशको पालना गर्दै रिलायन्सलाई दियो आईपीओ निस्कासनको अनुमति
रिलायन्स स्पिनिङ मिल्सको नाफा झण्डै डेढ अर्ब
रिलायन्सको आईपीओ बिक्रीको विषय अदालतबाट निर्णय हुने
धितोपत्र बोर्डले रोक्यो रिलायन्स स्पिनिङको आइपीओ
रिलायन्ससहित ३ कम्पनीको बिजुली काट्यो प्राधिकरणले
सुनसरीको रिलायन्स स्पिनिङ मिल्सले असार २७ गतेदेखि आईपीओ बिक्री गर्ने







