काठमाडौंः आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्यको निर्वाचनमा १०२ वटा राजनीतिक दल एक्लाएक्लै निर्वाचनमा जाने भएका छन् । १२० वटा राजनीतिक दलले निर्वाचनमा भाग लिनको लागि निवेदन दिएकोमध्ये १०२ वटा दलहरुले एक्लाएक्लै निर्वाचनमा जाने गरी निवेदन दिएको निर्वाचन आयोगले जनाएको छ ।
त्यसमध्ये १२ वटा राजनीतिक दलहरुले भने संयुक्त रुपमा चुनाव चिह्न प्रयोग गरी निर्वाचनमा जाने गरी आयोगमा निवेदन दिएका छन् । ती दलले विभिन्न समूह बनाएर ५ वटा चुनाव चिह्न प्रयोग गरी निर्वाचनमा भाग लिने भएका छन् ।
निर्वाचनमा भाग लिन १२० वटा निवेदन प्राप्त भएकोमध्ये १०२ वटा दलले आफू मात्रै एक्लै चुनावमा जानेगरि निवेदन दिएका थिए । १२ वटा दलले संयुक्त रुपमा कुनैमा दुई दल, कुनैमा तीन दल मिलेर एकल चुनाव चिह्न प्रयोग गर्ने गरी दल दर्ताको लागि निवेदन दिएका थिए ।
निर्वाचन आयोगले प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि समानुपातिक निर्वाचन प्रणालीतर्फको निर्वाचन कार्यक्रम हिजो आइतबारदेखि शुरु गरेको छ । समानुपातिक प्रणालीमा भाग लिन चाहने राजनीतिक दलले भोलि मङ्गलबारसम्म निवेदन दिन सक्नेछन् । प्राप्त भएका निवेदन उपर अध्ययन गरी मंसिर २६ गतेसम्म स्वीकृत गरिनेछ भने आगामी पुस १३ र १४ गते समानुपातिक तर्फका उम्मेद्वारको बन्दसूची पेश गर्ने समय तोकिएको छ । बन्दसूची पेश गर्दा ५० प्रतिशत महिला हुनुपर्ने आयोगले जनाएको छ ।
प्रत्यक्षतर्फको भने आगामी माघ ६ गते उम्मेद्वारी मनोनयन गर्ने कार्यतालिका छ ।







