विराटचोकः नेपाली यु–१९ महिला क्रिकेट टोलीले चीनमा सम्पन्न बेल्ट एन्ड रोड सिरिजको उपाधि जितेको छ ।
हङकङसँगको हिजोको फाइनल खेल वर्षाका कारण पूरा हुन नसकेपछि नेपालले अपराजित रहँदै प्रतियोगिताको उपाधि उचालेको हो ।
छ टोलीको सहभागिता रहेको प्रतियोगितामा नेपालले खेलेका ६ मध्ये चार खेलमा जीत हासिल गर्दा बाँकी दुई खेल वर्षाका कारण रद्द भएका थिए ।
नेपालले सिरिजको पहिलो खेलमै थाइल्यान्डलाई सात विकेटले हराउँदै सुखद सुरूआत गरेको थियो । त्यसपछि चीनसँगको दोस्रो खेल वर्षाले प्रभावित भएपछि नतिजाविहीन बनेको थियो ।
तेस्रो खेलमा हङकङलाई ९२ रनको फराकिलो अन्तरले पराजित गरेको नेपालले चौथो खेलमा पुनः थाइल्यान्डमाथि ५२ रनको जीत निकालेको थियो ।
पाँचौं खेलमा आयोजक चीनलाई ८४ रनले हराउँदै उपाधि यात्रालाई थप बलियो बनाएको नेपालले अन्तिम खेलमा हङकङसँग प्रतिस्पर्धा गरेको थियो ।
सो खेलमा पहिले ब्याटिङ गरेको नेपालले वर्षाले खेल रोकिनुअघि ११ ओभरमा दुई विकेटको क्षतिमा ८८ रन बनाएको थियो । त्यसपछि मौसम प्रतिकूल बनेपछि खेल रद्द भएको थियो ।





