इटहरीः इटहरी–७ को सुमङ्गल टोलमा शनिबार साँझ केहीबेरको अन्तरमा ५७ वर्षीय रामु चौधरी र उनकी ५१ वर्षीया श्रीमती कञ्चन चौधरीको मृत्यु भएपछि भोलिपल्ट अर्थात् हिजो लक्ष्मीपूजाको साँझ एकै चितामा दुवै जनाको दाहसंस्कार गरिएको छ ।
मिस्त्री काम गर्ने रामुले शनिबार बिहान जीउ दुखेको भन्दै ठेकेदारलाई काममा आउन नसक्ने खबर गरेका थिए । त्यस दिन घरमै बसेका उनले जीउमा सन्चो नभए पनि घरको सरसफाइ गरेका थिए । काम गर्दागर्दै बान्ता भएपछि उनी सुतेका थिए । श्रीमती कञ्चन भने बिहानैदेखि बान्ता र पखालाले थलिएर दिनभरजसो सुतेकी थिइन् । उनीहरुकी छोरी सुमिनालाई पनि शुक्रबारदेखि नै ज्वरो आएको थियो । शनिबार साँझ रामुको ओछ्यानमै मृत्यु भएको थियो । श्रीमान्को स्वास्थ्य अवस्था हेर्न गएकी कञ्चन पनि पतिको मृत्यु भएको देखेर केहीबेरमै त्यहीँ बेहोस भएर ढलेकी थिइन् ।
आमाबुबा दुवैलाई ढलेको देखेपछि सुमिनाले दाजु सुनिललाई फोन गरेर घर बोलाएकी थिइन् । सुनिलले आफन्त र छिमेकीलाई खबर कञ्चनलाई एम्बुलेन्समा राखी विराट शिक्षण अस्पताल लगेका थिए ।
स्वास्थ्य जाँचपछि चिकित्सकले कञ्चनलाई मृत घोषणा गरेका थिए ।
उनीहरुकी छोरी सुमिनालाई पखाला लागेपछि इटहरीकै आदर्श मेडिकलमा उपचार गराइएको थियो । औषधी सेवन गरिरहेकी उनी आमाबुबाको दाहसंस्कारका लागि घाटमा गएकी थिइन् । उनी विश्व आदर्श स्कुल इटहरीमा कक्षा १२ मा पढ्छिन् ।
उपचाररत् सुमिनाका अनुसार आमा कञ्चनले स्थानीय हटियाबाट जलकपुर माछा किनेर ल्याएकी थिइन् । सोही माछा खाएपछि परिवारका तीनै जना सदस्य बिरामी भएका थिए । आदर्श मेडिकलले सुमिनामा देखिएका लक्षण खाद्य विषाक्तता अर्थात् ‘फुड पोइजनिङ’सँग मिल्ने बताएको छ ।
इटहरी–७ का वडा सदस्य दीपक घिमिरेले रामु र कञ्चनको मृत्युको कारण अझै आधिकारिक रूपमा पुष्टि हुन बाँकी रहेको बताउनुभयो । घिमिरेका अनुसार रामुलाई उच्च रक्तचाप र कञ्चनलाई मधुमेह रोग थियो ।
मृत दम्पत्तिको आइतबार साँझ इटहरीस्थित बुढीगंगा घाटमा एउटै चितामा राखेर दाहसंस्कार गरिएको छ ।





