खेमचन्द्र अधिकारी
विराटचोकः चालु आर्थिक वर्षको नीतिमा उल्लेख भएअनुसार सुन्दरहरैंचा नगरपालिकाले कार्यान्वयन गर्न लागेको ‘ढुकुर जोडी’ सम्मानको विषयले अहिले सामाजिक सञ्जालमा प्राथमिकता पाएको छ । नगरवासीका साथै सो अभियानको बारेमा थाहा भएका कतिपय सामाजिक सञ्जाल प्रयोगकर्ताले नगरको सो नीतिको पक्ष र विपक्षमा आफ्ना मत राखेका छन् ।
समाजमा बढिरहेका सम्बन्ध विच्छेद, घरेलु हिंसा र पारिवारिक विघटनका घटना न्यूनीकरण गरी समाजमा सकारात्मक सम्बन्धलाई प्रोत्साहन गर्ने भन्दै सुन्दरहरैंचा नगरपालिकाले ‘ढुकुर जोडी सम्मान कार्यक्रम’ ल्याएको हो । लामो समयसम्म सँगै बस्ने जोडीलाई सम्मान गर्ने नगरको घोषणाले सामाजिक सञ्जाल तताएको हो ।
लाज पनि लजाउँछ
सामाजिक सञ्जालमा नयाँ वृन्दावन गौशाला नामबाट लेखिएको छ, ‘अब चै लाज पनि लजाउँछ होला । कर्मचारीको लापरवाहीले जनता दुःखी छन्, नागरिकता लिन के के कागज चाहिन्छ थाहा छैन, तर नगरपालिका भने ढुकुर जोडी खोज्दैछ !’
साहित्यकार नारायण गाउँलेले व्यङ्ग्यात्मक शैलीमा लेख्नुभएको छ, ‘श्रीमान् श्रीमतीको झगडा र छोड़पत्रको मुद्दा आएर हैरान भएपछि एक नगरपालिकाले नयाँ जुक्ति निकालेछ — झगडा नगरी बस्ने जोडीलाई ‘ढुकुर जोडी’ भनेर सम्मान गर्ने !’
बिहे गरेर दश वर्षदेखि सँगै बस्नुभएको छ ? विदेश गएको छैन ? झगडा भएको रेकर्ड छैन ? त्यसो भए तपाईंलाई अवार्ड दिन्छ नगरपालिकाले ।’
कल्पना घिमिरे लेख्नुहुन्छ, ‘कृषकलाई मल छैन, उत्पादन गरे पनि बजार छैन । युवाहरू बेरोजगारीले विदेशिने क्रम बढ्दो छ । किसानको समस्या सुन्ने नगरपालिकाले ढुकुर जोडी खोज्दैछ — यो नौटंकी हो ।’
सकारात्मकताको सन्देश
नगरको योजनालाई समर्थन गर्नेहरू पनि देखिएका छन् । सञ्चारकर्मी बाबुराम निरौला लेख्नुहुन्छ, ‘असल परिवार व्यवस्थापन गर्न सक्नेलाई सलाम छ । उत्कृष्ट योजना हो ।’
त्यस्तै, पुष्कल गौतम लेख्नुहुन्छ, ‘समाजमा दिनानुदिन श्रीमान् श्रीमतीबीच बेमेल, छोड़पत्र, महिला हिंसाका घटना भइरहेका छन् । यस्तो योजनाले तिनको न्यूनीकरणमा सहयोग पुर्याउनेछ । साथै, विवाह तथा जन्मदर्ताजस्ता कानुनी काममा पनि सजगता ल्याउनेछ ।’
यस्ता छन् सामाजिक सञ्जालमा आएका केही प्रतिक्रिया
सुन्दरहरैंचाको नौलो अभियान, ‘ढुकुर जोडी’लाई गरिने भो सम्मान