खेमचन्द्र अधिकारी
विराटचोकः सुन्दरहरैंचा नगरपालिकाको १४ औँ नगरसभामा नगर प्रमुख केदारप्रसाद गुरागाईँले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम सार्वजनिक गर्नुभएको छ । नीति तथा कार्यक्रम सार्वजनिक गर्ने क्रममा नगरप्रमुखले प्रस्तुत गरेको नीति तथा कार्यक्रममा तेस्रो प्राथमिकताक्रममा रहेको नीति नै गायब भएको छ ।
नीति तथा कार्यक्रमको पेज नम्बर ७ मा आगामी आर्थिक वर्ष २०८१\०८२ को नीति तथा कार्यक्रम र बजेट तर्जुमा गर्दा देहायका क्षेत्रलाई प्राथमिकता दिइएको छ लेखेर प्राथमिकता क्रम उल्लेख गरिएकोमा २ नम्बरपछि ४ नम्बर उल्लेख गरिएको छ ।
आठौँ पेजदेखि नीति तथा कार्यक्रम राखिए पनि सातौँ पेजमा प्राथमिकताक्रमको पहिलो नम्बरमा राखिएको आर्थिक विकास नीतिलाई नराखी दोस्रो नम्बरमा रहेको सामाजिक विकास नीतिलाई पहिलो प्राथमिकतामा राखिएको छ । तेस्रो प्राथमिकताक्रम हराएपछि चौथो क्रममा रहेको पूर्वाधार विकास नीतिलाई पेज नम्बर १८ मा तेस्रो क्रममा राखिएको छ । प्राथमिकता क्रममा पाँचौँ नम्बरमा रहेको वातवारण तथा विपत् व्यवस्थापनलाई चौथो क्रममा पेज नम्बर २१ मा राखिएको छ ।
त्यसो त प्राथमिकताक्रममै नपरेको न्यायिक समिति नीति पाँचौँ क्रममा राखिएको छ । शायद प्राथमिकताक्रमको तेस्रो नम्बरमा रहेको नीति यही हो कि ? यस विषयमा नगरसभामा भने कुनै जानकारी दिइएन ।
यही न्यायिक समितिसम्बन्धी नीतिको दोस्रो नीतिमा समाजमा बढ्दो सम्बन्ध विच्छेदलाई न्यूनीकरण गर्न उत्कृष्ट ढुकुर जोडी कार्यक्रम सञ्चालन गरिने उल्लेख छ ।
सुन्दरहरैंचा नगरपालिकाले ल्यायो १ अर्ब ८२ करोड ६१ लाख रुपैयाँको बजेट, झण्डै २६ करोड घाटा बजेट