इटहरीः इटहरी उपमहानगरपालिका–९ मा कार्यरत इन्जिनियर एलिना अधिकारीलाई कार्यकक्षमै कुटपिट गरेको आरोप लागेका इटहरी उपमहानगरपालिकाको योजना शाखाका इन्जिनियर भवेन्द्र चौधरी हिजो पक्राउ परेका छन् ।
चौधरीलाई प्रहरीले इटहरीको पेरिस गल्लीबाट पक्राउ गरेको हो । गत भदौ २५ गते आफ्नै कार्यकक्षमा अधिकारीमाथि चौधरीले कुटपिट गरेको आरोप छ ।
घटनापछि उपचार गराएकी अधिकारीले भदौ २७ गते इलाका प्रहरी कार्यालयमा प्रमाणसहित उजुरी दिएकी थिइन् । उजुरीका आधारमा असोज ५ गते चौधरीविरुद्ध पक्राउ पूर्जी जारी गरेको थियो ।
पक्राउ पूर्जी जारी भए पनि प्रहरीले पक्राउ गर्न चासो नदिएको भनी पीडित परिवारले प्रहरी अनुसन्धानमाथि प्रश्न उठाउँदै आएको थियो ।
कुटपिट गर्ने चौधरीले पालिकामा सञ्चालित विकास योजनाका नाममा खाजा खर्च भन्दै रकम उठाउने र त्यसमा एलिनाको समेत नाम जोड्ने विषयमा विवाद भएको बताइएको छ । एलिनाले त्यस्तो गतिविधिको विरोध गरेपछि विवाद बढेको पीडित परिवारको दाबी छ ।





