खाँदबारीः सङ्खुवासभाको मकालु गाउँपालिका वडा नम्बर २ का एकै परिवारका छ जनाले मकालु हिमाल आरोहण गरेर कीर्तिमानी कायम गरेका छन् ।
सो परिवारका ४ दाजुभाइ, एक बहिनी र एक छोरीले विश्वको पाँचौँ अग्लो आठ हजार ४८५ मिटरको मकालु हिमाल आरोहण गर्नुभएको हो । ङिमा ओङ्जुक शेर्पाका चार छोरा, एक छोरी र एक नातिनीले गत वैशाख २६ मा मकालु हिमाल आरोहण गरेको आरोही दलका सदस्य मुक्टुक लाक्पा शेर्पाले जानकारी दिनुभएको छ ।
मुक्कुटका साथै भाइहरुरू ङिमा दोर्ची शेर्पा, आङ डी शेर्पा, पेछुम्वे शेर्पा, बहिनी पासाङ शेर्पा र मुक्कुटकी २३ वर्षीया छोरी एनिमा शेर्पाले एकसाथ मकालु हिमाल आरोहण गर्नुभएको हो ।
एउटै बुबाआमाका पाँच छोराछोरीसहित छ जनाले आरोहण गरेर कीर्तिमानी राख्ने आफ्नो परिवार भएको भन्दै बहिनी पासाङले भदैनी २३ वर्षीया एनिमा मकालु हिमाल आरोहीमध्ये हालसम्मै कान्छी महिला भएको दाबी गर्नुभएको छ ।
एकैसाथ आरोहण गरेर कीर्तिमान राखेको भन्दै उक्त परिवारलाई मकालु गाउँपालिका, नेपाल पत्रकार महासङ्घ सङ्खुवासभा र शेर्पा सङ्घले सम्मान गरेको छ ।







