१४ औँ नगरसभाको फाइल तस्बिर
खेमचन्द्र अधिकारी
विराटचोकः ११ महिना अगाडि १४ औँ नगरसभामा सुन्दरहरैंचा नगरपालिकाले वार्षिक नीति तथा कार्यक्रम सार्वजनिक गर्दा आर्थिक वर्ष २०८१\०८२ देखि उत्कृष्ट ढुकुर जोडीलाई सम्मान गरिने भनी न्यायिक समितिसम्बन्धी नीतिमा उल्लेख गरेको थियो । सोही नीतिलाई कार्यान्वयन गर्ने क्रममा आज सुन्दरहरैंचा नगरपालिकाले एक सूचना जारी गर्दै योग्यता पुगेका नगरवासीले सो सम्मानका लागि निवेदन दिनुपर्ने उल्लेख गरेको छ ।
प्रमुख प्रशासकीय अधिकृत विनोदकुमार न्यौपानेको हस्ताक्षरमा जारी सूचनामा सम्मानका लागि योग्य हुन १२ शर्त अघि सारिएको छ । सामाजिक विकृति र घरेलु हिंसाका घटना बढिरहेको बेला दाम्पत्य जीवनमा दीर्घकालीन समझदारी, स्नेह, पारिवारिक समर्पण र सामाजिक अनुशासन प्रदर्शन गर्न सम्मानको कार्यक्रम अघि सारिएको नगरले जनाएको छ ।
पछिल्लो समय नगरको न्यायिक समितिमा घरेलु झगडा, गालीगलौज, ईज्जत आम्दानी अनुसार खान लाउन नदिएको, लैंगिक विभेद र हिंसाका उजुरी पर्ने गरेका छन् । यो अभियानले त्यस्ता घटनामा कमी हुने विश्वास नगरपालिकाले गरेको छ ।
निवेदनको लागि १० दिनको समय दिएर इच्छुक जोडीहरूलाई आफ्नो वडा कार्यालयमा निम्न १२ शर्तका अधीनमा रही निवेदन दिन नगरले आह्वान गरेको हो । नगरको सो सम्मानको लागि योग्य ठहरिन यस्ता छन् न्यूनतम १२ शर्तहरूः
१. कम्तीमा १० वर्षको वैवाहिक सम्बन्ध भएको,
२. श्रीमान् श्रीमती दुवै जनासँग नेपाली नागरिकता प्रमाणपत्र भएको,
३. विवाह दर्ता गरिसकेको,
४. स्थायी रूपमा सुन्दरहरैंचामा बसोबास गरेको,
५. छोराछोरीको जन्म भएको भए जन्मदर्ता गरिएको,
६. नागरिकता बनाउने उमेर भएका छोराछोरीको नागरिकता बनाइएको,
७. विद्यालय जाने उमेर पुगेका छोराछोरीको विद्यालयमा भर्ना गरिएको,
८. निरन्तर रूपमा संयुक्त परिवारमा, अर्थात् बुबाआमा वा सासूससुरासँग सँगै बसोबास गरेको,
९. बुबाआमा वा सासूससुराको राम्रोसँग हेरचाह, पालनपोषण र मायासम्मान गरेको,
१०. हालसम्म अदालत, प्रहरी चौकी, न्यायिक समिति लगायतका निकायमा वा समाजमा श्रीमान् श्रीमतीको घरेलु झगडासम्बन्धी निवेदन दर्ता नभएको,
११. निरन्तर नेपालमा बसेको तथा वैवाहिक जीवनको १० वर्षमा २ वर्षभन्दा बढी विदेश बसोबास नगरेको,
१२. माथिका शर्तसँग मेल खाने सम्बन्धित कागजात निवेदनसाथ पेश गर्नुपर्ने ।
सम्बन्धित समाचारः
कहाँ हरायो सुन्दरहरैंचाको तेस्रो नीति, न्यायिक समितिको प्राथमिकताक्रम कति








