विराटचोकः कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीले आजदेखि देशभर प्रदर्शनमा आएको चलचित्र ‘ऊनको स्वीटर’ हेरेपछि चलचित्रको सफलताको कामना गर्नुभएको छ ।
बुधबार सामाजिक सञ्जालमा स्टाटस लेख्दै कार्कीले कोशी प्रदेशको प्राकृतिक सुन्दरता र सांस्कृतिक विविधतालाई चलचित्रले पर्दामा उतारेकोमा सह्राना गर्नुभएको छ । चलचित्रका कथा लेखक नवीन चौहानको लेखन तथा निर्देशनको प्रशंसा गर्दै पाँचथरको रमणीय भूभागमा छायाङ्कन गरिएको सो चलचित्र मन छुने किसिमको भएको उहाँले उल्लेख गर्नुभएको छ ।
चलचित्रमा विपिन कार्की, मिरुना मगर, परीक्षा लिम्बू, विल्सन विक्रम राई, सुनिल पोखरेल, माओत्से गुरुङ, प्रेम सुब्बा लगायतका कलाकारहरूको जीवन्त अभिनयले रहेको तथा गीतकार युवराज काफ्लेको शब्द र झुमा लिम्बू तथा सुजन चापागाईको स्वर रहेको गीत कर्णप्रिय रहेको उहाँले उल्लेख गर्नुभएको छ ।
यस्ता सिर्जनात्मक प्रयासहरूले नेपाली सिने जगतलाई नयाँ आयाम दिने मुख्यमन्त्री कार्कीले उल्लेख गर्नुभएको छ ।
यस्तो छ मुख्यमन्त्री कार्कीले लेख्नुभएको स्टाटस
हार्दिक बधाई एवम् उच्च सफलताको शुभकामना !
कोशी प्रदेशको प्राकृतिक सुन्दरता र सांस्कृतिक विविधतालाई पर्दामा उतार्दै नवीन चौहानको लेखन तथा निर्देशन र आर्टमाण्डु द्वारा उत्पादित चलचित्र ‘ऊनको स्वीटर’ हेर्ने अवसर प्राप्त भयो । पाँचथरको रमणीय भूभागमा छायाङ्कन गरिएको यो चलचित्रमा विपिन कार्की, मिरुना मगर, परीक्षा लिम्बू, विल्सन विक्रम राई, सुनिल पोखरेल, माओत्से गुरुङ, प्रेम सुब्बा लगायतका कलाकारहरूको जीवन्त अभिनयले हाम्रो कथा बोलेको छ।
गीतकार युवराज काफ्लेको शब्द र झुमा लिम्बू तथा सुजन चापागाईको सुमधुर स्वरले सुसज्जित चर्चित गीत ’ धान सुक्यो राप्ले,फकाउछ काफ्ले जानुकि नजानु ’ ले अझै गहिराइ थपेको छ ।
यस्ता सिर्जनात्मक प्रयासहरूले नेपाली सिने जगतलाई नयाँ आयाम दिन्छ। सम्पूर्ण टिमलाई धेरै धेरै शुभकामना !