विराटचोकः सुकुना बहुमुखी क्याम्पसका संस्थापक क्याम्पस प्रमुख रामप्रसाद काफ्लेको जीवनीमा आधारित कृति ‘सेवाका सारथी रामप्रसाद काफ्ले’ शनिबार विमोचन गरिएको छ ।
सुन्दरहरैंचा–५ स्थित नयाँ वृन्दावन गौशालामा आयोजित कार्यक्रममा कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले कृतिको लोकार्पण गर्नुभएको हो ।
कार्यक्रममा नगरप्रमुख केदारप्रसाद गुरागाईं, पूर्व राज्यमन्त्री राजकुमार ओझा, प्रा. डा टंकप्रसाद न्यौपानेलगायतको उपस्थिति रहेको थियो । सो पुस्तकका बारेमा डा. दीपक न्यौपानेले चर्चा गर्नुभएको थियो ।
शिक्षाविद् काफ्ले तत्कालीन दुलारी आदर्श गाउँ पञ्चायतको दुई कार्यकाल प्रधानपञ्च समेत हुनुभएको थियो । नयाँ वृन्दावन गौशालाकी अध्यक्ष गंगादेवी काफ्ले प्रकाशक रहेको सो पुस्तक बिक्रीबाट हुने आम्दानी नयाँ वृन्दावन गौशालाको कोषमा राखिने गौशालाका संरक्षक महामण्डलेश्वर दीनबन्धु शास्त्रीले बताउनुभयो ।
कार्यक्रममा स्थानीयका साथै काफ्लेले शिक्षण गर्नुभएको समयका विद्यार्थीको उल्लेख्य उपस्थिति रहेको थियो ।







