काठमाडौंः राष्ट्रिय सभामा रिक्त हुन लागेका १८ सांसदको पदको निर्वाचन आगामी माघमा हुने भएको छ । २०७६ सालको चुनावबाट निर्वाचित १९ सदस्यको कार्यकाल आगामी फागुनबाट सकिनेछ ।
१९ जनाको पदावधि सकिने भए पनि वामदेव गौतम राष्ट्रपतिबाट मनोनीत सांसद भएकाले बाँकी १८ जनाका लागि निर्वाचन हुनेछ ।
राष्ट्रिय सभा सदस्य निर्वाचन ऐनमा पद रिक्त हुनु भन्दा ३५ दिन अगावै निर्वाचन हुनुपर्ने व्यवस्था छ । २० फागुनमा राष्ट्रिय सभा सदस्यको पदावधि सकिन्छ । त्यसको ३५ दिन अगावै निर्वाचन गर्नुपर्ने कानुनी व्यवस्था छ ।
राष्ट्रिय सभा एक स्थायी सदन हो । राष्ट्रिय सभाका सदस्यहरूको पदावधि छ वर्षको हुन्छ । राष्ट्रिय सभाका एक तिहाइ सदस्यको पदावधि प्रत्येक दुई वर्षमा समाप्त हुने भएकाले प्रत्येक दुई÷दुई वर्षमा निर्वाचन भएर एक तिहाइ सदस्य नयाँ आउँछन् ।