गोठगाउँः मोरङ क्षेत्र नम्बर ६ बाट निर्वाचित सांसद रुबिना आचार्य आफ्नो निर्वाचन क्षेत्रका मतदाताका गुनासा र सुझाव सुन्न गाउँगाउँमा जान थाल्नुभएको छ । सो क्रममा उहाँले आफूले गरेका र प्राथमिकतामा परेका योजनाका बारेमा पनि जानकारी दिने काम गर्नुभएको छ ।
यसै क्रममा सोमबार उहाँले सुन्दरहरैंचा–७ स्थित शिवपाञ्चायन मन्दिरमा आयोजित कार्यक्रममा सहभागी भई मतदाताका गुनासा र सझाव सुन्नुभएको थियो । मतदाताले राखेका जिज्ञासाको जवाफ पनि उहाँले सो क्रममा दिनुभएको थियो । मतदाताले सडक, भवन, खानेपानी, शिक्षा, स्वास्थ्यलगायतका विषयमा जिज्ञासा राखेका थिए ।
मतदाताले सोच परिवर्तन गर्न नयाँ पार्टी र युवा नेतृत्वलाई छानेको भन्दै सांसद आचार्यले पालिका र वडाबाट हुने सानातिना बजेटका कार्यक्रम माग नगर्न अनुरोध गर्नुभएको थियो । आफूहरू नीति निर्माणमा बढी सक्रिय हुने हुनाले सोही अनुसारका सुझाव दिन र जिज्ञासा राख्न तथा नगर र वडाको गौरवका ठूलाठूला योजनाका लागि बजेट माग गर्न उहाँले अनुरोध गर्नुभएको थियो ।
सरकारले पालिका र वडालाई आवश्यकताअनुसार बजेट दिन नसक्दा मतदाताले संघीय सांसदसमक्ष सानातिना बजेट माग गर्नु स्वाभाविक भएको सुन्दरहरैंचा नगरपालिका वडा नम्बर ७ का वडाध्यक्ष भुवनसिंह मगरले बताउनुभएको थियो ।
राष्ट्रिय स्वतन्त्र पार्टी मोरङ क्षेत्र नम्बर ६ को आयोजनामा भएको कार्यक्रममा रास्वपाका साथै अन्य दलका तथा विभिन्न संघसंस्थाका प्रतिनिधिको उपस्थिति रहेको थियो ।





