विराटनगरः नेपाली कांग्रेसको १५ औँ नियमित महाधिवेशन (देउवा समूह) अन्तर्गत मोरङ जिल्ला अधिवेशनको निर्वाचन स्थगित गरिएको छ ।
जिल्ला अधिवेशनमा विभिन्न पदमा निर्धारित सङ्ख्याभन्दा बढी उम्मेद्वारी परेपछि सहमतिका आधारमा नेतृत्व चयन गर्ने प्रयास भए पनि सहमति जुट्न नसकेपछि निर्वाचन स्थगित गरिएको हो ।
निर्वाचन अधिकृत अधिवक्ता सचिन सिंहले अर्को सूचना प्रकाशित नभएसम्मका लागि निर्वाचन स्थगित गरिएको जानकारी गराएका छन् । उनले केन्द्रीय निर्वाचन समितिसँग आवश्यक सल्लाह तथा छलफल गरी मतदानको अर्को मिति निर्धारण गरिने जनाएका छन् ।
अधिवेशनमा सभापति पदका लागि तीन जनाले उम्मेदवारी दर्ता गराएका थिए । त्यस्तै, अन्य कार्यसमितिका पदमा पनि निर्धारित पद सङ्ख्याभन्दा बढी उम्मेदवारी परेको थियो ।
ती उम्मेद्वारीलाई सर्वसम्मत रूपमा टुङ्ग्याउने उद्देश्यले आपसी छलफल र सहमतिको प्रयास गरिए पनि निष्कर्षमा पुग्न नसकिएको निर्वाचन अधिकृत सिंहद्वारा जारी सूचनामा उल्लेख छ ।
मङ्सिर १ गतेदेखि जिल्ला अधिवेशन शुरु भएको थियो ।





