बेलबारीः साहित्यकार नवराज पोखरेल ‘नवशिला’ को दोस्रो एकल कृति ‘शिलाजित’ मुक्तक सङ्ग्रहको शनिबार बेलबारी बहुमुखी क्याम्पसमा लोकर्पण गरिएको छ ।
हामी र हाम्रो कृति समाजको आयोजनमा भएको कार्यक्रममा वरिष्ठ साहित्यकार, भाषाविद् प्रा.डा. टङ्कप्रसाद न्यौपानेले कृतिको लोकार्पण गर्नुभएको हो । लोकार्पित कृतिमाथि नेपाल मुक्तक प्रतिष्ठान कोशी प्रदेशका अध्यक्ष एवम् समीक्षक बाबुराम पोखरेल, लेखक तथा अनुसन्धाता केशु विरही र कवि रोहिणी रसिकले समीक्षा गर्नुभएको थियो ।
कार्यक्रममा साहित्यकारहरू अमृतप्रसाद आचार्य, हर्कमान तामाङ, छवि वैरागी घिमिरे, बेलबारी बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख भुपेन्द्रप्रसाद कोइराला, झोराहाट नाट्य समाजका अध्यक्ष भरत गुरागाईं बर्बरिक, बेलबारी साहित्य विकास समितिका अध्यक्ष रमेश निरौला, हामी र हाम्रो कृति समाजका सचिव बद्री उप्रेतीलगायतले कृतिकारको उत्तरोत्तर प्रगतिको कामना गर्दै मन्तव्य राख्नुभएको थियो ।
आयोजकले लेखककी ८४ वर्षीय मावलकी हजुरआमा मधुमाया भट्ट, बुवा लक्ष्मीप्रसाद पोखरेल, आमा दुर्गादेवी पोखरेल, सासूआमा कमला भण्डारी र ससुराबुवा झलकबहादुर भण्डारीलाई सम्मान गरेको थियो ।
साहित्यकारहरू श्रेष्ठ परिक्रमा, रमेन्द्र कोइराला, मञ्जुश्री गिरी, एकराज भट्टराई, मदन भण्डारी, प्रिन्स प्रमोद ढकाल, निकिशारानी पोखरेल, राधा भट्टराईलगायतले कार्यक्रममा रचना वाचन गर्नुभएको थियो ।
साहित्यकार पोखरेलले कविता, गजल, कथा, लघुकथा, बालसाहित्य विधामा समेत कलम चलाउँदै आउनुभएको छ । व्यङ्ग्य कन्तुर (संयुक्त टुक्का कविता सङ्ग्रह) –२०८०, हामी र हाम्रो कृति (संयुक्त मुक्तक सङ्ग्रह) – २०८१, हामी र हाम्रो मुक्तक सङ्ग्रह (संयुक्त मुक्तक सङ्ग्रह) – २०८१ र नवशिला (मुक्तक सङ्ग्रह) प्रकाशित भएको छन् ।
हामी र हाम्रो कृति समाजका अध्यक्ष मदन नेपालको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन निर्जल प्रशान्तले गर्नुभएको थियो ।