खेमचन्द्र अधिकारी
मुक्तक विधा नेपाली साहित्यमा अलि पछि परेको विधा हो । मुक्तक लेख्ने, कृति प्रकाशन गर्ने तथा सञ्चारमाध्यममा प्रकाशन वा प्रशारण कम हुने विधा हो मुक्तक । पछाडि परिरहेको मुक्तक विधालाई अगाडि ल्याउन पछिल्लो समय केही साहित्यकारले प्रयास गरिरहेको पाइन्छ । यस्तै प्रयास गर्नेमध्येका एक हुुनुहुन्छ नवराज पोखरेल ।
मुक्तककार पोखरेलले प्रकाशन गर्नुभएको नवशिलाभित्रका चार सय ओटै मुक्तकको भावमा खोट लगाउने ठाउँ भेटिन्नँ । यी मुक्तकमा देशप्रेम, प्रकृतिप्रेम, सामाजिक विकृतिमाथि व्यङ्ग्य, शासन व्यवस्थाका असङ्गतिमाथि झटारो तथा शृङ्गारिकता पाइन्छ ।
शृङ्गारिकताः
आफ्नी प्रेमिका माया, ममताकी मात्रै होइन आफूलाई सफल कार्यमा अघि बढ्न प्रेरणा दिने ऊर्जाकी स्रोत हो भन्ने भाव मुक्तककारले चौथो मुक्तकमा यसरी व्यक्त गर्नुभएको छ ।
माया गर्छे अँगालोमा बेरी शिलारानी
रमाउँछे सधैँ मलाई हेरी शिलारानी
मेरा हरेक प्रगति, प्रेरणाको स्रोत हो ।
कोहीभन्दा कम्ती छैन मेरी शिलारानी ।।
प्रेरणाः
सङ्ग्रहभित्रका मुक्तकमा केही काम गर्न खोज्नेलाई प्रेरणा दिँदै ऊर्जा भर्ने अभिव्यक्ति पाइन्छ । जस्तै आठौँ मुक्तक हेरौँ
दुःखभित्रै खुशी हुन्छ हरपल यसलाई खोज्नुपर्छ ।
उही नै हुन्छ धनी जसले परिश्रमलाई सम्मान गर्छ ।।
प्रारम्भमै टुङ्गो लगाऊ भविष्यको उद्देश्यलाई,
लक्ष्य बोकी हिँड्नेले नै सफलताको सुवास छर्छ ।।
राजनीतिक विकृतिमाथि व्यङ्ग्यः
मुक्तककारलाई राजनीतिक विकृति कत्ति पनि मन परेको छैन । त्यसैले उहाँले मुक्तकमार्फत् त्यस्ता विकृतिमाथि व्यङ्ग्यवाण चलाउनुभएको छ । तेरौँ मुक्तकमा उहाँको भाव यसरी छताछुल्ल भएको छः
कहिलेसम्म चलिरहन्छ राजनीति खेला हजुर
ठूला माछा काम बिगार्ने सानो पर्छ फेला हजुर
भ्रष्टहरुकै मनोमानी, बोलवाला छ उनीहरुकै
लुटिन्छ यहाँ नाङ्लो पसल, गरिबको ठेला हजुर ।।
त्रुटिः
कृतिभित्र वर्णविन्याससम्बन्धी त्रुटि प्रशस्त पाइन्छ । पदयोग, पदवियोग, शिरबिन्दु र चन्द्रबिन्दुको प्रयोग, ह्रस्वदीर्घको प्रयोगमा असचेतता देखिन्छ । यस्तो गल्ती हरेक पृष्ठमा भेटिन्छ । यस कृतिको आगामी संस्करणमा वा कृतिकारको आगामी कृतिमा यस्ता त्रुटि हटाउनु आवश्यक देखिन्छ । जस्तैः
गाँसीनाता, शालिन, भमँरा, रमाउछे (पृ.१)
देखाउ, वन, दुनिया, धाइ, बाँढ, लक्ष, हिड्नेले (पृ.२)
अन्त्यमा,
४०० थान समसामयिक चोटिला मुक्तक प्रकाशन गरी मुक्तकका पारखीको मन जित्नुका साथै मुक्तक लेखनका लागि नवसर्जकलाई हुटहुटी जगाउन नवराजको नवशिला सक्षम हुन सक्नेमा दुई मत छैन ।







