विराटचोकः मोरङको सुन्दरहरैंचा नगरपालिकाले जङ्गली हात्तीबाट हुने क्षति न्यूनीकरण गर्न सुन्दरहरैंचाको जङ्गलतर्फको सिमानामा पूर्वदेखि पश्चिमसम्म सडक बत्ती जडान गर्ने भएको छ । लगभग २० किलोमिटर क्षेत्रमा बत्ती जडान हुने नगरपालिकाले जनाएको छ ।
आज बसेको सुन्दरहरैंचाको विपत् व्यवस्थापन समितिको बैठकमा नगर प्रमुख केदारप्रसाद गुरागाईँले गर्नुभएको सो प्रस्ताव सर्वसम्मत पारित भएको हो । त्यसैगरी, हालसम्म हात्तीको आक्रमणबाट ज्यान गुमाएका सुन्दरहरैंचाका ४ जनाको परिवारलाई प्रति परिवार १ लाख रुपैयाँका दरले राहत प्रदान गर्ने निर्णय पनि सो बैठकले गरेको छ ।
वडाबाट सिफारिश भई आएका ४३ परिवारमा हात्तीले पुर्याएको क्षतिलाई मध्यनजर गरी राहत वितरण गरिने निर्णय भएको छ ।
सुन्दरहरैंचामा निर्माणाधीन भुल्के शिल्पी थिएटरमा भएको आगलागीको क्षतिस्वरुप तथा थिएटर मर्मत गर्न ४ लाख रुपैयाँ दिने निर्णय पनि सो बैठकले गरेको छ ।







