काठमाडौंः अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) ले सन् २०२५–२०२६ का लागि अन्तर्दृष्टि साहित्यिक पत्रिकाको सम्पादन मण्डल बिस्तार गरी रचनाहरूको आह्वान गरेको छ ।
दिनेशराज ज्ञवालीको प्रधान सम्पादकत्वमा खिमानन्द पोखरेल, दीपा राई पुन, सुशीला खड्का ‘हसिना’, दीपेन्द्र जोशी ‘निक’, प्रेमिला गौचन, महता घिमिरे चापागाईं, विष्णुविभु घिमिरे, रिजा प्रधान, महेन्द्र भट्टराई, ललित श्री, खेमराज सुवेदी, आर्यश, पुष्करजंग थापा, अनिलकुमार निर्दोष, विष्णु वाग्ले, सुमन कार्कीलगायत सम्पादन मण्डलमा हुनुहुन्छ ।
सो पत्रिकाले विश्वभर छरिएर रहेका नेपाली भाषाका साहित्यकारहरूलाई आफ्ना रचनाहरू पठाउन आह्वान गरेको छ । कविता, कथा, समालोचना, समीक्षा, यात्रा निबन्ध, एकाङ्की नाटक र ललित निबन्ध जस्ता विधामा रचनाहरू माग गरिएको छ । प्रत्येक विधाका लागि शब्द सीमा तोकिएको छ ।
२०२५ अप्रिल ३० (२०८२ वैशाख १७) सम्म पठाइएका रचना छनोट गरी उत्कृष्ट रचनाहरू सन् २०२६ अप्रिलभित्र प्रकाशित गरिने तथा उत्कृष्ट गद्य तथा पद्य रचनाहरूलाई आकर्षक नगद पुरस्कार र सम्मानपत्रबाट सम्मानित गरिने जनाइएको छ ।







