खाँदबारीः संखुवासभा र भोजपुर जिल्लामा निर्माणाधीन ४७.१ मेगावाट क्षमताको गुराँस हाइड्रो आयोजना निर्माणको काम ५० प्रतिशतभन्दा बढी सम्पन्न भएको छ । ८ अर्ब २० करोड रुपैयाँ लागत अनुमान गरिएको आयोजनाले निर्माणलाई तीव्रता दिएको छ ।
सङ्खुवा खोलाको पानी उपयोग गरी निर्माण भइरहेको आयोजनाको हेडवक्र्स संखुवासभाको साल्पासिलिचोङ गाउँपालिका–१, २ र ३ अन्तर्गत बुधबारे क्षेत्रमा निर्माण भइरहेको छ । सङ्खुवा र सिसुवा खोलाको संगमस्थलमा बाँध निर्माण गरी करिब ६ हजार ४०० मिटर लामो सुरुङमार्फत् पानी विद्युत् गृहमा पुर्याउने आयोजना संरचना रहेको छ ।
विद्युत् गृह भोजपुरको साल्पासिलिछो गाउँपालिका–१ र २ अन्तर्गत बेखुवा क्षेत्रमा निर्माण भइरहेको छ ।
आयोजनाबाट प्रभावित क्षेत्रका ४२२ परिवारलाई न्यूनतम एक लाखदेखि अधिकतम पाँच लाख रुपैयाँसम्मको संस्थापक शेयर प्रदान गरिएको छ । गुराँस हाइड्रो लिमिटेडका कार्यकारी अध्यक्ष शिवप्रसाद घिमिरेले आयोजित समारोहमा प्रभावित परिवारलाई शेयरसम्बन्धी प्रमाणपत्र हस्तान्तरण गरेका हुन् ।
शेयर हस्तान्तरण कार्यक्रममा अध्यक्ष घिमिरेले आयोजना स्थानीय क्षेत्रसँगै देशको ऊर्जा विकासका लागि महत्वपूर्ण रहेको बताए । आयोजना निर्माणमा प्रभावित क्षेत्रका बासिन्दा, स्थानीय समुदाय र सरोकारवालाको भूमिका महत्वपूर्ण रहेको उल्लेख गर्दै उनले सबैको सहयोग र सहकार्यले निर्माण कार्य अघि बढाउन सहज भएको बताए ।
आयोजना निर्माणमा प्राविधिक, निर्माण कर्मचारी, सुरक्षा निकाय, नेपाल प्रहरी र नेपाली सेनासहित करिब ७०० जना संलग्न रहेको जनाइएको छ । आयोजनाले स्थानीय स्तरमा रोजगारी सिर्जना गर्नुका साथै आर्थिक गतिविधि विस्तारमा समेत योगदान पुर्याएको छ ।
निर्माणको आधाभन्दा बढी काम सम्पन्न भइसकेको आयोजनाले आगामी दिनमा निर्माणलाई थप तीव्रता दिँदै विद्युत् उत्पादनको लक्ष्य हासिल गर्ने गरी काम अघि बढाएको जनाएको छ ।





