पुरन याख्खा
जिन्दगीको एक पाटामा
नङ र मासुको सम्बन्ध
हिजो नाङ्गै हिँडेदेखि
आजको परिवर्तनसम्म
लाजगाल, अवगालसम्म आइपुग्दा
म उसको साथमा
रमाउँथे, कराउँथे
उसले सम्झाउँथ्यो, बुझाउँथ्यो ।
समयको फन्कोसँगै
विचारले पनि फन्को मारेछ
आज भन्दै भोलि भन्दै
मित्रताको गाँठो खुल्न थालेछ
हुन त म आफ्नै परिवेश चाहन्थेँ
तर उसको साथ पाउँदा रमाउँथे
हो ! यिनै कमीकमजोरीले
आज मित्रता टाढिँदै, टाढिँदै गइरहेछ ।
– आज दिउँसो भानु साझा पुस्तकालय सुन्दरहरैंचामा लोकार्पण हुने याक्खाको कविता सङ्ग्रह ‘गर्भभित्र’ बाट







