Monday, June 15, 2026
Homeफिचरअचार बनाउने सीप सिक्दै सुन्दरहरैंचाका महिला, ३६ सहभागीले लिए ५ दिन तालिम

अचार बनाउने सीप सिक्दै सुन्दरहरैंचाका महिला, ३६ सहभागीले लिए ५ दिन तालिम

गोठगाउँः घरेलु तथा साना उद्योग कार्यालय, कोशी प्रदेशको आयोजनामा तथा सुन्दरहरैंचा महिला मञ्चको समन्वयमा अचार बनाउने पाँच दिने तालिम सुन्दरहरैंचामा सम्पन्न भएको छ ।

सुन्दरहरैंचा नगरपालिका–७, गोठगाउँमा सञ्चालन गरिएको तालिममा सुन्दरहरैंचा महिला मञ्चमा आबद्ध सदस्यका साथै मञ्चका गैरसदस्य तथा वडा नम्बर ६, ७ र ८ का गरी ३६ जना महिलाको सहभागिता रहेको थियो ।

महिलाहरूलाई स्वरोजगार तथा उद्यमशीलतातर्फ प्रेरित गर्ने उद्देश्यले आयोजना गरिएको तालिममा विभिन्न प्रकारका अचार बनाउने व्यावहारिक सीप प्रदान गरिएको आयोजकले जनाएको छ ।

तालिमका क्रममा सहभागीहरूले लसुनको अचार, आँपको अचार, गुन्द्रुकको अचार, न्युटोलाको अचार, मेथीको अचार तथा मिक्स अचार बनाउने विधिबारे प्रशिक्षण लिएका थिए । प्रशिक्षक मनिषा पोखरेलले स्थानीयस्तरमै उपलब्ध सामग्रीको प्रयोग गरी गुणस्तरीय र बजारयोग्य अचार उत्पादन गर्ने तरिकाबारे सहजीकरण गर्नुभएको थियो ।

तालिमको समापन समारोहलाई घरेलु तथा साना उद्योग कार्यालयका कोशीका उद्योग अधिकृत गिरिजाप्रसाद पराजुली र सुन्दरहरैंचा महिला मञ्चका सल्लाहकार रवीन्द्र आचार्य, सुन्दरहरैंचा महिला मञ्चकी अध्यक्ष विमला अधिकारी तथा प्रमुख अतिथि सुन्दरहरैंचा–७ का वडाध्यक्ष भुवनसिंह मगरलगायतले सम्बोधन गर्नुभएको थियो ।

वक्ताहरूले तालिमबाट प्राप्त सीपलाई व्यवहारमा उतार्दै आयआर्जन तथा उद्यम विकासमा उपयोग गर्न सहभागी महिलाहरूलाई आग्रह गर्नुभयो । स्थानीय स्रोत र सीपको सदुपयोग गरेर महिलाहरू आर्थिक रूपमा आत्मनिर्भर बन्न सक्ने भएकाले यस्ता तालिमको महत्व बढ्दै गएको उहाँहरूको भनाइ थियो ।

प्रशिक्षार्थी सोनु रिमाल, मीना बिष्ट र कामना श्रेष्ठले तालिम फलदायी भएको र उद्यम गर्ने तथा स्वरोजगार बन्ने बाटोमा लाग्न प्रेरणा मिलेको बताउनुभयो ।

प्रशिक्षक मनिषा पोखरेलले प्रशिक्षार्थीले बनाएको अचार आफूले खरीद गर्ने तथा बजारीकरणमा सहयोग गर्ने बताउनुभयो ।

सहभागीहरूले तालिमबाट नयाँ सीप सिक्ने अवसर प्राप्त भएको बताउँदै सिकेका ज्ञानलाई व्यावसायिक रूपमा प्रयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए । तालिमले महिलाहरूमा उद्यमशीलता विकास गर्नुका साथै आत्मनिर्भर बन्ने प्रेरणा प्रदान गरेको सहभागीहरूको भनाइ छ ।

कार्यक्रमलाई समापन गर्दै सभाध्यक्ष घरेलु तथा साना उद्योग कार्यालय कोशीका उद्योग अधिकृत यमनाथ बरालले सुन्दरहरैंचा महिला मञ्चको समन्वयमा दुई वटा कार्यक्रम गर्न पाउँदा खुशी लागेको र सुन्दरहरैंचाका महिला सहयागी र जागरुक भएको बताउनुभयो । आगामी आर्थिक वर्षमा तालिम कार्यक्रममा थप बजेट विनियोजन गरिने उहाँले बताउनुभयो ।

समापन समारोहमा घरेलु तथा साना उद्योग कार्यालयका अधिकृत शंकर कार्कीले स्वागत मन्तव्य राख्नुभएको थियो ।

समापन कार्यक्रमको सञ्चालन सुन्दरहरैंचा महिला मञ्चकी सचिव जानुका ओझाले गर्नुभएको थियो ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments