विराटचोकः राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले गरेको कार्यसम्पादन मूल्याङ्कनमा डडेल्धुराको अमरगढी नगरपालिका देशकै उत्कृष्ट स्थानीय तह घोषित भएको छ ।
आयोगले विभिन्न १७ ओटा सूचक राखेर १०० पूर्णाङ्कमा मूल्याङ्कन गर्ने गरेको छ । अमरगढीले ७ सय ५३ स्थानीय तहमध्ये सबैभन्दा धेरै ८१ दशमलव ७ अङ्क ल्याएको छ ।
अमरगढी नगरपालिकापछि इलामको सूर्योदय नगरपालिकाले ८० दशमलव २ अङ्क ल्याउँदै दोस्रो भएको छ । गाउँपालिकातर्फ स्याङ्जाको कालीगण्डकी गाउँपालिका र धादिङको नेत्रावती डवजोङ गाउँपालिकाले समान ७८ दशमलव २ अङ्क प्राप्त गरी गाउँपालिकातर्फ उत्कृष्ट भएका छन् ।
आयोगले हरेक वर्ष प्रदेश र स्थानीय सरकारको कार्यसम्पादन मूल्याङ्कनको नतिजा सार्वजनिक गर्ने गर्दछ ।







