लेटाङः लेटाङ खेलकुद महोत्सव अन्तर्गत मंगलबार सम्पन्न बाघचाल प्रतियोगितामा लेटाङ–४ का रामकुमार श्रेष्ठ च्याम्पियन हुनुभएको छ । नगरपालिकामै पहिलोपटक परम्परागत बाघचाल खेलको प्रतियोगिता सञ्चालन गरिएकोमा लेटाङ ५ का चन्द्रकुमार श्रेष्ठलाई २–० को सोझो सेटमा पराजित गर्दै रामकुमार श्रेष्ठ च्याम्पियन बन्नुभएको हो ।
लेटाङ ३ का ७७ वर्षीय पर्वतमान राई तेस्रो हुनुभएको छ । उहाँले लेटाङ ४ का ९१ वर्षीय दुर्गाबहादुर श्रेष्ठलाई २–० को सोझो सेटमा पराजित गर्नुभएको हो । प्रतियोगितमा २२ जना खेलाडीले नाम दर्ता गरे पनि प्रतियोगितामा ३ जना अनुपस्थित रहनुभएको थियो ।
बाघचालमा प्रथम हुनेले ट्रफीसहित नगद ८ हजार, दोस्रो हुनेले ५ हजार र तेस्रो हुनेले ३ हजार पुरस्कार पाउनुभएको छ ।
बाघचाल खेलका फोकल पर्सन नेत्र चुडालका अनुसार प्रतियोगितामा कक्षा १२ मा अध्ययनरत २० वर्षीय युवादेखि ९१ वर्षीय ज्येष्ठ नागरिकसम्म सहभागी हुनुभएको थियो ।







