Friday, December 5, 2025
Homeधर्म र संस्कृतिनेपालकै पहिलो नवग्रह मन्दिर स्याङ्जाको अर्जुनचौपारीमा निर्माण

नेपालकै पहिलो नवग्रह मन्दिर स्याङ्जाको अर्जुनचौपारीमा निर्माण

स्याङ्जाः स्याङ्जाको अर्जुनचौपारी गाउँपालिका वडा नम्बर १ मा रहेको पञ्चकन्या तथा जलवराह धार्मिक वन केटीचौर (सिमलचौर) मा पञ्चकन्यादेवी मन्दिरको नजिकै नेपालकै पहिलो नवग्रह मन्दिरको निर्माण भएको छ ।

यस्तो नवग्रह मन्दिर भारतको आसामको चित्रसालस्थित पहाडमा र लखनउमा मात्र रहेको बताइन्छ । अर्जुनचौपारी गाउँपालिका अध्यक्ष प्रकाश तिवारीका अनुसार १५७ रोपनीमा फैलिएको यस धार्मिक वनमा नवभुज आकारको २७ फिट अग्लो नवग्रह मन्दिर बनाइएको हो । यस मन्दिरमा रहने पिल्लरको सबैभन्दा माथि आकाशतर्फ फर्काएर सौर्यमण्डलीय ब्रह्माण्डको प्रतीक राखिएको छ । मन्दिरमा रहने प्रतिमा धार्मिक व्यक्तिको निर्देशनमा भारतको नर्वदा नदीको पत्थरबाट बनाइएको छ ।

पिल्लरको १४ फिटमा नवग्रहको रूपमा सूर्य, शुक्र, केतु, चन्द्र, मंगल, बुध, शनि, बृहस्पति र राहुका प्रतीक राखिएको छ । पिल्लरको नौवटा भुजामा ग्रह अनुसारका रङ लगाइएको छ । नवग्रह मन्दिरसँगै षट्कोण शिवालय बनाइएको छ भने यसको बीचमा पशुपतिनाथको जस्तै पञ्चमुखी शिवलिङ्ग र कोणमा गणेश, कुलदेवता, लक्ष्मी, कालभैरव, हनुमानको मूर्ति राखिएको छ ।

मन्दिरमा षट्कोणको एक छेउबाट प्रवेश गरेर गणेश, कुलदेवता (तेलको पोखरी), इष्टदेवताको पूजा गरेर बीचमा रहेको पञ्चमुखी शिवलिङ्गको दुई पटक घुमेर पूजा गरेसङ्गै हनुमान, लक्ष्मी, कालभैरवको पूजा गरेर बाहिर निस्किने बनाइएको छ ।

षट्कोण शिवालयको पूजा पश्चात् देब्रे छेउबाट हिँडेर करिब तीन सय मिटर टाढा रहेको वर्षौंदेखि पूजा अर्चना गरिँदै आइएको पञ्चकन्याको मन्दिरको दर्शन गरिनेछ । त्यस पश्चात् विपरीत बाटोमार्फत् दियो आकारको पूर्वतर्फ फर्केको नवग्रह मन्दिर पुगिने छ । नौ चक्रमा रहेको मन्दिरको एक ठाउँबाट छिरेर परिक्रमा सहितको पूजा गरेपछि चक्रको पुछारमा रहेको सुरुङबाट बाहिर निस्किने बाटो निर्माण गरिएको छ ।

नवग्रह मन्दिर शनिबार मात्र खुले पनि नौमध्ये एक चक्रमा भने हरेक दिन पनि पूजा गर्न सकिने गरी निर्माण गरिएको छ । सौर्यमण्डलीय ब्रह्माण्डको मूर्ति भने हरेक वर्षको गणेश चतुर्थीमा मात्र हेर्न पाइने र सो दिन पालिका नै बिदा गरेर पूजा गरिने तिवारीले जानकारी दिनुभयो ।

षट्कोण, नवग्रह तथा यहाँ हिँड्ने बाटोमा स्थानीय ढुङ्गा बिछ्याएर कलात्मक बनाइएको छ भने दुबो बिछ्याएर सुन्दर बनाइएको छ ।

नव्रग्रह मन्दिर बनेको जल वराह धार्मिक वनभित्र ग्रह अनुसारका बिरुवा रोपिएको छ । प्रदेश सरकारको विशेष अनुदान ४० लाख र गाउँपालिकाको १९ लाख तथा प्रधानमन्त्री रोजगार श्रमबाट नवग्रह मन्दिर निर्माण गरिएको तिवारी बताउनुहुन्छ ।

सवा करोड दीप प्रज्ज्वलन गरी महाशिवरात्रीको अवसरमा फागुन १४ गते प्रतिमाको प्राणप्रतिष्ठा गरिने भएको छ ।

गण्डकी प्रदेशको राजधानी पोखराबाट ५२ किलोमिटर टाढा नवग्रह मन्दिर निर्माण गरिएको हो ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments