Friday, December 5, 2025
Homeधर्म र संस्कृतिआज माघ शुक्ल पूर्णिमा, स्वस्थानी व्रत समापन गरिँदै

आज माघ शुक्ल पूर्णिमा, स्वस्थानी व्रत समापन गरिँदै

विराटचोकः आज माघ शुक्ल पूर्णिमा । एक महिनाअघि पौष शुक्ल पूर्णिमामा शुरु भएको स्वस्थानी व्रतको आज समापन गरिँदैछ । पौष शुक्ल पूर्णिमादेखि वैदिक सनातन हिन्दू धर्मावलम्बीले घरघरमा शुरु गरेको एक महिने स्वस्थानी व्रत आज विधिपूर्वक समापन हुने गर्दछ ।

स्कन्द पुराणअन्तर्गतको केदार खण्डको माघ महात्म्यमा कुमार र अगस्त्यबीच भएको संवादलाई स्वस्थानी कथाका रुपमा भन्ने र सुन्ने काम पनि ११ महिनाका लागि आजदेखि समापन हुँदैछ । विधिपूर्वक व्रत बसेका व्रतालुले आज १०८ जनै, १०८ सुपारी, १०८ पान, १०८ फल, १०८ रोटी, १०८ अक्षता विभिन्न थरीका फलफूल, धूप, बत्ती, नैवेद्य, श्रीखण्ड, रक्तचन्दन, सिन्दूर, वस्त्र, भेटी चढाई व्रतको कामना पूर्ण होस् भनी स्वस्थानी देवीलाई अर्घ्य दिइन्छ । चढाइएका प्रसादमध्ये सबैबाट आठ÷आठ पतिलाई, पति नभए छोरालाई र छोरा पनि नभए मीत छोरालाई एवं मीत छोरा पनि नभएमा कामना सिद्ध होस् भनी नजिकको पवित्र नदीमा बगाउने व्रत विधि छ । सय रोटी व्रतालुले फलाहार गरी रातमा जाग्राम बसी देवीको महात्म्य सुन्ने सुनाउने परम्परा छ ।

स्वर्ण वर्णकी, त्रिनेत्रधारी, प्रसन्न मुद्रा भएकी, कमल र सिंहासनमा बसेकी, चार हात भएकी देवीलाई स्वस्थानी देवी भनिन्छ । स्वस्थानीको चार हातमध्ये पहिलो हातमा नीलकमल, दोस्रो हातमा खड्ग, तेस्रो हातमा ढाल र चौथो हातमा वरदमुद्रा रहेको स्वस्थानी व्रतकथामा उल्लेख गरिएको छ । यस्ती देवीको विधिपूर्वक व्रत गरेमा बिछोड भएका जोडीको पुनःमिलन हुन्छ भन्ने विश्वास छ । रोग व्याध लागेको भए ठीक हुने र पति वा पत्नीका रुपमा कसैलाई इच्छाएको भए प्राप्त हुने कथा समेत प्रचलित छ ।

सत्य युगमा हिमालय पर्वतकी पुत्री पार्वतीले महादेवलाई पति पाऊँ भनी विष्णुको निर्देशानुसार स्वस्थानीको व्रत गरेको कथा स्वस्थानीमा वर्णन गरिएको छ । व्रतपछि बिछोडमा परेका नाग नागिनीको पुनःमिलन भएको कथामा उल्लेख छ । गोमा ब्राह्मणीले सप्तऋषिले सिकाएको व्रतविधिअनुसार गर्दा पुत्र वियोगबाट मुक्ति मिलेको र व्रतकै प्रभावले छोरा नवराज लावण्य देश राजा भएको कथा समेत स्वस्थानीमा वर्णन गरिएको छ ।

काठमाडौं उपत्यकाको पूर्वी भेगस्थित शालीनदीमा पौष शुक्ल पूर्णिमादेखि शुरु भएको माधवनारायण व्रत पनि आज समापन गरिन्छ ।

नेवार समुदायले आज सि पुन्हिका रुपमा यो पर्व मनाउँछन् ।

 

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments