विराटचोकः सुन्दरहरैंचाको विराटचोकमा हुने सुन्दरहरैंचा विराट एक्स्पो ४ लाई आकर्षक बनाउन फागुन ३ गते साहित्यिक उत्सव हुने भएको छ । सो उत्सवमा झापा, मोरङ र सुनसरीका २२ जना साहित्यकारले भाग लिने भएका छन् ।
साहित्यिक उत्सवका लागि सुन्दरहरैंचामा क्रियाशील ४ वटा साहित्यिक संस्था जुटेका छन् । ती संस्थाले साहित्यिक उत्सवमा कविता शृङ्खला, मुक्तक शृङ्खला र गजल शृङ्खलाको आयोजना गर्ने सुन्दरहरैंचा साहित्य कला विकास समितिका छवि वैरागी घिमिरेले जानकारी दिनुभयो ।
भानु साझा पुस्तकालयका अध्यक्ष पुरन राईका अनुसार कविता शृङ्खला अन्तर्गत मोरङका भरत गुरागाईँ ‘बर्बरिक’, रोहिणि रसिक, सोमप्रसाद भट्टराई र खगेन्द्र समरसले आफ्ना कविता वाचन गर्नुहुनेछ । झापाका बिन्दु दाहाल ‘मूकदर्शक’ र साङ्सेन पन्धाक तथा सुनसरीका टीका आत्रेय र शकुन्तला मञ्जरीले कविता प्रस्तुत गर्नुहुने राईले जानकारी दिनुभयो ।
मुक्तक शृङ्खलामा झापा, मोरङ र सुनसरीका ७ जना मुक्तककारले आफ्ना रचना वाचन गर्नुहुने भएको छ । विराट साहित्य समाजका उपाध्यक्ष विदुर सुवेदीका अनुसार मुक्तककारहरु तिला लेकाली, विनोद विवश घिमिरे र नवराज पोखरेल ‘नवशिला’ (मोरङ), मदन भण्डारी (झापा) र राधा भट्टराई, लक्ष्मी आचार्य र मिश्रा गुरुङ (सुनसरी) ले मुक्तक प्रस्तुत गर्नुहुने भएको हो ।
राइडर्स महफिल सुन्दरहरैंचाका व्यवस्थापक यादव भट्टराईका अनुसार झापा, मोरङ र सुनसरीका ७ जना गजलकारले आफ्ना गजल वाचन गर्नुहुने भएको छ । झापाका गजलकार कृष्ण काश्यप र गीता सुवेदी, मोरङका गजलकार जेबी थुलुङ, मुना आत्रेय र रुपनारायण श्रेष्ठ तथा सुनसरीका गजलकार सुमन रेग्मी र निसल भण्डारीले आफ्ना गजल वाचन गरेर र गाएर एक्स्पोलाई महफिलमय बनाउनुहुने भएको हो ।
सुन्दरहरैंचा उद्योेग वाणिज्य संघको आयोजनामा यही माघ ३० गतेदेखि फागुन १० गतेसम्म विराटचोकस्थित औद्योगिक प्रदर्शनी केन्द्र एक्स्पो आयोजना हुने भएको हो । एक्स्पो सञ्चालनपछि बचत भएको रकम सुन्दरहरैंचाका विभिन्न ४ ठाउँमा अत्याधुनिक शौचालय निर्माणका लागि खर्च गरिने आयोजकले जनाएको छ ।
विराट एक्स्पोको प्रचारप्रसार व्यापक रुपमा हुँदै, सवारी साधनमा स्टिकर टाँसेर प्रचार गरिँदै
सुन्दरहरैंचा विराट एक्स्पो ४ मा फागुन ३ गते साहित्यिक उत्सव हुने
सुन्दरहरैंचा विराट एक्स्पोमा साहित्यिक गतिविधि पनि हुने
सुन्दरहरैंचा विराट एक्स्पोमा चेस प्रतियोगिता पनि हुने
सुन्दरहरैंचा विराट एक्स्पो ४ मा व्यायामसम्बन्धी जानकारीमूलक र व्यावहारिक ज्ञान प्रदान गरिने








