खेमचन्द्र अधिकारी
७ वटा कृति प्रकाशन गरिसकेका केशु विरहीले आठौँ कृतिको रूपमा ‘बेलबारीको साहित्यिक इतिहास’ नामक अनुसन्धानमूलक कृति प्रकाशन गरे । उपन्यास, गजल, कथा र वंशावली लेखनमा अनुभव लिइसकेका सर्जकले नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्व प्राज्ञ रविमान लम्जेलको निकटताले अनुसन्धानमूलक कृति लेखनमा प्रेरणा मिलेको जनाएका छन् ।
उत्तरी मोरङमा प्रायः हरेक साता साहित्यिक कार्यक्रम हुने र हरेक वर्ष स्थानीय सरकारले साहित्यको लागि बजेट विनियोजन गरी सदुपयोग गर्ने गरेको बेलबारीमा उनको यो कृति प्रकाशनपछि नगरको साहित्यिक इतिहासको खोजी गर्नेलाई राहत मिलेको छ । यो पूर्ण अनुसन्धान नभई विवरणात्मक मात्रै बन्न पुगेको उनले स्वीकारेका छन् । जे भए पनि उनी आफैँले थप अनुसन्धान गरेमा वा पछि अन्य अनुसन्धानकर्ताले बेलबारीको साहित्यिक इतिहास खोजेमा यो कृति सन्दर्भ सामग्री बन्नेछ ।
वार्षिक रूपमा सर्जकलाई विद्वत्वृत्ति दिएर भए पनि साहित्यिक इतिहास र अनुसन्धानमा अभिप्रेरणा जगाउनुपर्ने उनले सुझाव दिएका छन् । यसमा बेलबारी नगरपालिका, बेलबारी साहित्य विकास समिति वा अन्य साहित्यिक संस्थाले कदम चाल्नेछन् अथवा कुनै अनुसन्धाताले एकल प्रयासमा बेलबारीको साहित्यिक इतिहासको अनुसन्धानात्मक कृति आउनेछ भन्ने अपेक्षा गर्न सकिन्छ ।
त्यसो त अनुसन्धाता विरहीले पनि खोजमूलक कामलाई अघि बढाइरहने उल्लेख गरेका छन् । उनले भनेका छन्ः
‘खोजमूलक कामले कहिल्यै पूर्णता नपाउने रहेछ, जति खोजे पनि त्यो अपुरो नै हुने रहेछ । त्यसैले यो शुरुवात मात्रहो, पूर्णता भने होइन । यसमा धेरै विवरणहरू छुटेका हुन सक्छन् । छुटेका कुरालाई दोस्रो संस्करणमा समेट्ने प्रण गर्दछु ।’ (पृ. ग)
२ खण्डमा समेटिएको कृतिमा दुवै खण्डमा ७ उपखण्ड रहेका छन् ।
खण्ड क ऐतिहासिक खण्डमा बेलबारी नगरपालिकाको सङ्क्षिप्त परिचय दिइएको छ । जसमा प्राचीन भारतवर्षदेखि हालसम्म आइपुग्दा मत्स्यदेश, मिथिला, पुण्ड्रु तथा किरात राज्य हुँदै हाल नेपालको मोरङ जिल्लामा बेलबारी पर्ने उनले उल्लेख गरेका छन् ।
बेलबारीमा नेपाली साहित्यको प्रारम्भ र विकासमा विरहीले उल्लेख गरेअनुसार पुण्यप्रसाद सुवेदी (१९९०–२०४२) को ‘दलमुखी’ शीर्षकको कथा नै बेलबारीका स्रष्टाको पहिलो रचना हो । जुन रचना वि. सं. २०१५ सालमा प्रकाशन भएको भनी अच्युतरमण अधिकारीलिखित ‘पुण्यप्रसाद सुवेदीः जीवनी– व्यक्तित्व’ कृतिमा उल्लेख रहेको विरहीले प्रष्ट्याएका छन् । तर, सो रचना कुन पत्रिकामा प्रकाशित भएको थियो भनी उनले प्रष्ट भने पारेका छैनन् ।
त्यस्तै, सुवेदीद्वारा नै लिखित कथा सङ्ग्रह ‘धुवाँका चक्काहरू’ लाई बेलबारीबाट प्रकाशित पहिलो कृति मानिएको छ ।
बालसाहित्यतर्फ भने पहिलो कृति प्रकाशन गर्ने सर्जक एच.एम. तामाङ भएको र २०४५ सालमा प्रकाशित ‘ब्रुनोको देशमा’ बालकथासङ्ग्रह नै पहिलो कथासङ्ग्रह भएको उनले उल्लेख गरेका छैनन् । त्यसभन्दा पहिले बालकथा असङ्ग्रहित रूपमा पनि प्रकाशन भएको हुन सक्छ तर त्यसबारेमा भने विरहीको कृतिले कुनै सङ्केत गरेको छैन । तामाङलाई भने दोस्रो पुण्यप्रसादको दर्जा दिइएको छ ।
बेलबारीका पहिलो स्रष्टा सुवेदीको बारेमा कृतिमा दिइएको जानकारीअनुसार सुवेदीले २०२० सालतिर एमए उत्तीर्ण गरेका थिए । तत्कालीन प्रधानमन्त्री सूर्यबहादुर थापाको स्वकीय सचिवसमेत भएर काम गरेका उनले भगवती मावि बेलबारीको व्यवस्थापन समितिमा रहेर पनि योगदान गरेका थिए ।
सुवेदीपछि बेलबारीका स्रष्टाहरू एच.एम. तामाङ, सञ्जयविक्रम थापा, वियोग सापकोटा, ईरान राई, चन्द्रकला तमू ‘प्रकृति’, गणेश लामा, उत्तम आलोक, विष्णु भण्डारी आचार्य, बादलदेवी चाम्लिङ, आस्था कोपिला, रेखा सुवेदी, तारा पराजुली, सुरेन्द्र राई, नरबहादुर राई र चुडाराज दङ्गाल, भक्तशेर लिम्बू, गंगा सुवेदी, सरन राई, किशोर सुब्बाले कविता सङ्ग्रह प्रकाशन गरेको विरहीले उल्लेख गरेका छन् ।
यी कविबाहेक अन्य ३२ जना स्रष्टाले फुटकर रूपमा कविता लेखेको भनी उनीहरूको नाम विरहीले उल्लेख गरेका छन् ।
बेलबारीको पहिलो गीतकारको रूपमा पनि विरहीले पुण्यप्रसाद सुवेदी नै भएको उल्लेख गरेका छन् । उनले रेडियो नेपालमा हालसम्म पनि चर्चित रहेका ‘शीतलु माथि नि शीतलु भयो…’, ‘घुमाई नि घुमाई घुम बुन्ने दाजु…’ र ‘साँगुरीवारी नि हौ त्यो धारापानी…’ बोलका गीत सुवेदीले रचना गरेको उल्लेख गरेका छन् । तर, ती गीतको सर्जकको नाम उल्लेख नभएको र सन् २०१६ जुलाई ४ मा युट्युबमा सार्वजनिक भएको ‘साँगुरीवारी नि हौ त्यो धारापानी …’ बोलको गीतमा रचनाकारको नाम ‘शेखर’ उल्लेख भएको र सुवेदीको बौद्धिक सम्पत्तिमाथि हनन भएको उल्लेख गरेका छन् । ती गीत सुवेदीका नै हुन् भन्ने आधारको बारेमा भने विरहीले कृतिमा उल्लेख गरेका छैनन् ।
वि. सं २०५३ मा प्रकाशित हस्त थापाको ‘प्रभातका झङ्कारहरू’ बेलबारीको पहिलो प्रकाशित गीत सङ्ग्रह भएको विरहीले उल्लेख गरेका छन् । बेलबारीका गीतकारमा मधु गुरुङ, गंगा सुवेदी, हिमांशु राय (प्रकाशोन्मुख), रामकुमार राई, अरुण राई, विनोद खम्बू, गंगा वरदान, टीकालाल धिमाल, तुलसीराम पुरी (बालुन गीतका सङ्कलक तथा गायक), डम्बर विकेल, बालक गुरुङ, तारा पराजुली, सञ्जीव धिमाल, वियोग सापकोटा ‘वियोग’, ईरान राई, जेबी थुलुङ आदिको नाम उल्लेख गरेका छन् ।
फुटकर रूपमा गीत लेख्नेहरूमा ३२ जनाको नाम उल्लेख गरेका छन् ।
बेलबारीका मुख्य हाइकुकारका रूपमा विरहीले ईरान राईलाई प्रस्तुत गरेका छन् । तर हाइकुको पहिलो कृति प्रकाशनमा भने विरहीले स्पष्ट जानकारी दिएका छैनन् । कृतिको १३ औँ पृष्ठमा उनले राईको ‘सङ्कटकाल’ शीर्षकको कृति बेलबारीको पहिलो हाइकु सङ्ग्रह भएको उल्लेख गरेका छन् । तर, सोही पृष्ठको अर्काे अनुच्छेदमा राईका ५ वटा हाइकु सङ्ग्रह प्रकाशनको वर्ष उल्लेख गर्ने क्रममा ‘जिउँदो लास’ २०५७ सालमा र सङ्कटकाल २०६२ सालमा प्रकािशत भएको उल्लेख गरेका छन् । जसले गर्दा पहिलो हाइकु सङ्ग्रहको बारेमा उनले दिएको जानकारीमा अस्पष्टता आएको छ । पृष्ठ नम्बर १२४ मा रहेको तालिका नम्बर १ मा ‘जिउँदो लास’लाई पहिलो हाइकु सङ्ग्रह उल्लेख गरिएको छ ।
राईले २०७६ सालमा प्रकाशन गरेको हाइकु सङ्ग्रह ‘लिम्पियाधुरा’ लाई सबैभन्दा सानो कृतिको रूपमा दाबी गरे पनि प्रमाणित हुन भने नसकेको भनी जानकारी पनि विरहीले दिएका छन् । यद्यपि सबैभन्दा सानो कृति भनेर नेपालको सानो कृति भनिएको हो वा विश्वको सानो कृति भनिएको हो र कुन संस्था वा निकायले त्यसलाई मान्यता दिएन भनेर उल्लेख गरेका छैनन् । त्यसको जानकारी पनि दिएका भए खोज अझ पूर्ण हुनेथियो भन्ने देखिन्छ ।
बेलबारीका हाइकुकारको रूपमा उनले २३ जनाको नाम उल्लेख गरेका छन् ।
समालोचनाको उठानकर्ताका रूपमा पनि विरहीले पुण्यप्रसाद सुवेदीकै नाम लिएका छन् । सुवेदीले वि. सं.२०१३ तिर नै समालोचना लेखेको पाइएको भनी पुरुषोत्तम सुवेदीलाई उद्धृत गर्दै उल्लेख गरेका छन् ।
अन्य समालोचकमा केशु विरही, ईरान राई, धनजीत पराजुली र खेम फुयाल ‘अश्रु’ को नाम उल्लेख गरेका छन् ।
निबन्ध लेख्ने बेलबारीका पहिलो स्रष्टामा पनि पुण्यप्रसाद सुवेदीकै नाम विरहीले उल्लेख गरेका छन् । सुवेदीले २०१४ सालमा डाँफेचरी पत्रिकामा प्रकाशन गरेको ‘संगिनी’ लेख नै पहिलो निबन्धात्मक सिर्जना भएको भनी देवी सुवेदीलाई उद्धृत गर्दै उल्लेख गरेका छन् ।
निबन्ध सङ्ग्रह प्रकाशन गर्ने एक्लो स्रष्टामा उनले ईरान राईको नाम उल्लेख गरेका छन् । राईले वि. संं. २०७७ सालमा प्रकाशन गरेको ‘कट्टु’ नै बेलबारीका निबन्धकारको पहिलो निबन्ध सङ्ग्रह भएको उनले उल्लेख गरेका छन् ।
बेलबारी– २ लालभित्तीका राजेन्द्र तामाङले लेखेको निबन्ध सङ्ग्रह प्रकाशन गर्न आर्थिक अभाव हुँदा पाण्डुलिपिमै सीमित रहेको पनि विरहीले जानकारी दिएका छन् ।
फुटकर रूपमा निबन्ध तथा निबन्धात्मक लेखहरू लेख्ने बेलबारीका साहित्यकारमा हर्कमान तामाङ, डम्बर विकेल, तिला लेकाली, रेखा सुवेदी, नारायणभक्त राई, जीवन अधिकारी, सोमनाथ खनाल, सुरज सुवेदी, केशु विरही, धनजीत पराजुली, बालक गुरुङ आदिको नाम उनले उल्लेख गरेका छन् ।
नाटक लेखनमा बेलबारीका धेरै स्रष्टा लागेको र बेलबारीमा धेरै नाटक मञ्चन पनि भएको विरहीले कृतिमा उल्लेख गरेका छन् । उनका अनुसार बेलबारीमा वि. सं. २०३५÷०३६ सालतिर नै किशोर सुब्बाले नाटक मञ्चन गरेका थिए । सुब्बा पछिल्लो समय चलचित्रको लेखन तथा निर्देशनमा लागेका छन् । बेलबारीका स्रष्टाले लेखेका नाटक मञ्चन भए पनि पुस्तकाकार रूपमा भने कुनै पनि नाटक नआएको उनले उल्लेख गरेका छन् ।
विरहीका अनुसार बेलबारीमा रहेर नाटक लेख्नेहरूमा किशोर सुब्बा, ईरान राई, कृष्ण गुरुङ, भीम लामा, अरुण राई, राजेन्द्र तामाङ, शम्भु भट्टराई, वियोग सापकोटा, गोपाल देवान, जेबी थुलुङ, तिलक खनाल, डम्बर बिकेल, महेन्द्र लिम्बू, सोमनाथ खनाल र टीकालाल धिमालले नाटक लेखेका थिए र ती नाटकको मञ्चनसमेत भएको थियो ।
नाटककारमध्ये टीकालाल धिमालले धिमाल भाषामा ४ वटा नाटक लेखेका र तीमध्ये ३ वटा मञ्चन भएको विरहीले उल्लेख गरेका छन् ।
उपन्यासतर्फ भने शुरुमा अनुवाद लेखन भएको विरहीले जनाएका छन् । उनका अनुसार वि.सं.२०४३ सालमा हर्कमान तामाङले अनुवाद गरेको ‘धुवाँ, आगो र र मानिस’लाई पहिलो अनुवादित उपन्यास हो । यद्यपि सो उपन्यासका मूल लेखक र कृति लेखिएको मूल भाषाका बारेमा भने उल्लेख गरिएको छैन ।
त्यसपछि वि. संं २०५६ मा प्रकाशित केशु विरहीको ‘आमाको माया’ बेलबारीको पहिलो उपन्यास भएको तर यसमा केही विवाद पनि देखिएको उनले उल्लेख गरेका छन् । ईरान राईले आफ्नो कृति ‘छायाको चित्र’ मा राजेन्द्रकुमार तामाङद्वारा लिखित २०६५ सालमा प्रकाशित ‘सीमाभित्रका पाइला’लाई बेलबारीको पहिलो उपन्यास भनेका छन् । त्यसमा विमति जनाउँदै विरहीले ‘आमाको माया’लाई बेलबारीको पहिलो औपन्यासिक कृति भनिएको उल्लेख गरेका छन् । राईले जन्म (जन्मस्थान ?) को आधारमा पहिलो उपन्यास भनी लेखेको पनि उनले प्रष्ट्याएका छन् ।
केशु विरही तेह्रथुममा जन्मिएका भए पनि कृति प्रकाशनको समयमा उनी बेलबारीमा अस्थायी रूपमा बसेकाले सो कृतिलाई पहिलो मान्नुपर्ने विरहीले तर्क गरेका छन् । राजेन्द्र तामाङले २०६५ सालमा कृति प्रकाशन गर्नुपूर्व किशोर सुब्बाले २०६१ सालमा ‘फावाखोलाको गीत’, सुरेन्द्र लिम्बू ‘परदेशी’ को ‘अधुरो जीवन’ (२०६१) र चुडामणि गिरीका ‘रक्तमिश्रण’ (२०६३) प्रकाशन भएको विरहीले उल्लेख गरेका छन् ।
बेलबारीका अन्य उपन्यासकारमा डिल्लीराम धिमाल ‘विषम’, बालक गुरुङ, सरन राईको नाम उल्लेख गरेका छन् ।
कथातर्फ पुण्यप्रसाद सुवेदीको ‘दलमुखी’ बेलबारीको पहिलो कथा भएको उल्लेख गर्दै पहिलो कथा सङ्ग्रह पनि सुवेदीकै ‘धुवाँका चक्काहरू’ (२०२८) लाई उल्लेख गरेका छन् ।
कृति प्रकाशन गर्ने कथाकारमा गंगा सुवेदी, बद्री अधिकारी, केशु विरही, धनजीत पराजुली, सुरेन्द्र लिम्बू ‘परदेशी’, डिल्लीराम धिमाल ‘विषम’, रमेशकुमार तामाङ (तामाङ भाषा) का कथाकार रहेको उनले उल्लेख गरेका छन् । यी साहित्यकारमध्ये गंगा सुवेदीले ९ वटा कथा सङ्ग्रह प्रकाशन गरेको उनले जानकारी दिएका छन् ।
कृति प्रकाशन नगरेका बेलबारीका कथाकारमा ६ जना कथाकारको नाम विरहीले उल्लेख गरेका छन् ।
बेलबारीको पहिलो लघुकथाकार को थियो भन्ने किटान गर्न गाह्रो भएको र खोजीकै विषय रहेको उनले उल्लेख गरेका छन् । ६० को दशकदेखि केशु विरहीले विभिन्न पत्रिकामा लघुकथा प्रकाशन गरेको र पछिल्लो समय नवराज पोखरेल ‘नवशिला’ ले पनि लघुकथा लेखिरहेको उनले जानकारी दिएका छन् ।
बेलबारीका लघुकथाकारको पहिलो प्रकाशित कृति भने २०७७ सालमा प्रकाशित उमा सिँजापतिको ‘परी’ रहेको उनको भनाइ छ । कथाकार सरन राईको ‘नौरङ्गी’ पहिलो लघुकथा सङ्ग्रह मान्न सकिने आधार भए पनि राई बेलबारी छोडेर धरान बसाइँ सरेपछि कृति प्रकाशन भएकाले बेलबारीका साहित्यकारको कृतिको रूपमा उनको लघुकथा सङ्ग्रहलाई नराखिएको उनले उल्लेख गरेका छन् ।
सिँजापतिका साथै दीप मङ्ग्राती र विष्णु भण्डारीले मात्रै लघुकथाको कृति प्रकाशन गरेका भए पनि ईरान राई, केशु विरही, नवराज पोखरेल ‘नवशिला’, उत्तम राई र डिल्लीराम धिमाल ‘विषम’ आदि बेलबारीका लघुकथाकार रहेको उनले जनाएका छन् ।
बेलबारीमा बाल साहित्यको पहिलो कृति प्रकाशन गर्नेमा एचएम तामाङ ‘बु्रनोको देशमा’ (२०४५) रहेका छन् । कृतिलाई कथा सङ्ग्रह भनिए पनि त्यसमा समावेश भएका कथा बालकथा रहेको विरहीले उल्लेख गरेका छन् । बेलबारीमा बालसाहित्यको पूर्ण विकास भने ७० को दशकमा मात्रै भएको उनले उल्लेख गर्दै ९ वटा कृति र २ वटा एल्बम हालसम्म बेलबारीका साहित्यकारले सार्वजनिक गरेको उल्लेख गरेका छन् ।
बालबालिकाको मनोविज्ञान बुझेर उनीहरूको रुचिअनुसारका रचना लेख्नेभन्दा पनि बालबालिकालाई पात्र बनाएर मात्र सिर्जना गर्ने प्रवृत्ति पाइनु बालसाहित्यका लागि ठूलो चुनौती भएको विरहीले उल्लेख गरेका छन् ।
एचएम तामाङ, रमेशकुमार तामाङ (तामाङ भाषा), हस्त थापा, केशु विरही, तिला लेकाली, तारा पराजुली, विकास बुढाथोकी, ईरान राई, जेबी थुलुङ आदिले कृति र एल्बम निकालेर बेलबारीको बालसाहित्यलाई माथि उठाएको उनले उल्लेख गरेका छन् । विद्यालयले भित्ते पत्रिका प्रकाशन गरेर बालबालिकाको सिर्जना प्रष्फुटनमा सहयोग पु¥याएको पनि उनले उल्लेख गरेका छन् ।
त्यस्तै, बेलबारीमा रहेको सृजनाघर तथा विभिन्न विद्यालय र संघसंस्थाले विविध कार्यक्रममार्फत् बालसाहित्यको जगेर्ना गरिरहेको उनले उल्लेख गरेका छन् ।
बेलबारीमा रहेका स्रष्टाले मातृभाषामा पनि साहित्य सिर्जना गरेको उल्लेख गर्दै तामाङ भाषाको शब्दकोषसमेत लेखेका स्व. रमेशकुमार तामाङको बेलबारीको मातृभाषा साहित्यमा उल्लेख्य योगदान रहेको उल्लेख गरेका छन् ।
मातृभाषामा कलम चलाउने मुख्य स्रष्टामा किशोर सुब्बा पर्ने कृतिमा उल्लेख गरिएको छ ।
सञ्जीव धिमाल, टीकालाल धिमाल, डिल्लीराम धिमाल, अष्टनारायण धिमाल, सुवर्ण धिमाल, ताराबहादुर धिमाल, अजितकुमार धिमाल आदि धिमाल भाषाको साहित्य उत्थानमा लागेको विरहीले उल्लेख गरेका छन् । विरहीका अनुसार उनीहरूमध्ये कोही धिमाल चलचित्रको कथा लेखनमा, कोही गोरखापत्र दैनिकको धिमाल भाषाको पेजको सम्पादनमा तथा कोही धिमाल भाषामा साहित्य रचनामा लागेका सर्जक हुन् । धिमाल बेलबारीमा बसोबास गर्ने पहिलो जाति हो ।
४० जना बेलबारीका सर्जकहरूले मातृभाषामा कलम चलाउने गरेको उनले उल्लेख गरेका छन् । ईरान राईलाई उद्धृत गर्दै ती साहित्यकारको नाम उल्लेख गरिएको भनी पादटिप्पणीमा उल्लेख गर्दै त्यसमा आफूले केही नाम थपेको उल्लेख गरेका छन् । राईले उल्लेख गरेका नाममात्रै पाद टिप्पणीमा उल्लेख गरेर विरहीले निम्न स्रष्टा पनि मातृभाषामा रचना सिर्जना गर्छन् भन्ने आशयको जानकारी लेखेको भए पछि थपिएका सर्जकको बारेमा जान्न पाठकलाई सहज हुन्थ्यो ।
बेलबारीमा विकास भएको जनवादी साहित्यको पनि कृतिमा उल्लेख छ । जननेता मदन भण्डारी र राष्ट्रपति विद्यादेवी भण्डारीको निकटताको कारण बेलबारी १ स्थित नक्सललाई जनवादी साहित्यको गढ मानिएको छ । त्यहाँ स्थापित पूर्व क्षितिज पुस्तकालयका साथै जनज्योति पुस्तकालय र बेलबारी– २ को पूर्व क्षितिज युवा क्लबले जनवादी साहित्यको श्रीवृद्धिमा योगदान गरेको उल्लेख गर्दै जनवादी गायक तथा जनवादी साहित्य फैलाउन योगदान दिनेको नाम कृतिमा समावेश गरिएको छ ।
कृतिमा खण्ड ख लाई परिचय खण्ड भनिएको छ । जसमा बेलबारीका स्रष्टाको सामान्य परिचय दिइएको छ । कृति प्रकाशन गरेका र कृति प्रकाशन नगरेका साहित्यकारको फरकफरक शीर्षकमा परिचय दिइएको छ ।
बेलबारीका ३४ जना सर्जकले कृति प्रकाशन गरेको भनी प्रकाशित कृति र प्रकाशन वर्ष उल्लेख गरेर जानकारी दिएका विरहीले कृति प्रकाशित नगरेका ३७ जना सर्जकको परिचय पनि उल्लेख गरिएको छ । कृति प्रकाशित गरेका सर्जकको नाम वर्णानुक्रममा छ (कृतिको शुरुमा दिइएको अनुक्रमणिका अनुसार भने परिचय दिइएको छैन । अनुक्रमणिकामा गायक गंगा वरदानको नाम छुटेको छ) तर कृति प्रकाशन गर्नेको नाम अनुक्रमणिकाअनुसार छैन ।
बेलबारीका साहित्यिक सङ्घसंस्थाहरू, बेलबारीका पत्रपत्रिकाहरू, रेडियो र अनलाइन पत्रिकाहरूको पनि कृतिमा जानकारी दिइएको छ ।
त्यस्तै, बेलबारीको साहित्यिक विकासका लागि पाहुना स्रष्टाको योगदान, छिमेकी स्रष्टाको योगदान र साक्षीको रूपमा रहेका स्रष्टाको योगदान उल्लेख गरिएको छ ।
कोरोना कालमा बेलबारीको अनलाइन साहित्यको प्रभाव शीर्षकमा सानो जानकारी दिँदै त्यसमा सहभागी १ सय १५ जना साहित्यकारको नाम उल्लेख गरिएको छ ।
अनुसन्धान जटिल काम हो । त्यसमाथि लेख्य प्रमाणको अभावमा साहित्यको अनुसन्धान झन् जटिल हुन आउँछ । धेरै विधामा कलम चलाएका विरहीले अनुसन्धानमूलक क्षेत्रमा चालेको कदम सह्रानीय छ । पहिलो प्रयास भएको हुनाले कृति अपुरो हुन पुगेको छ । सर्जक, पाठक र अनुसन्धानकर्ताको सुझाव र प्रतिक्रियाअनुसार थप अनुसन्धान भएमा कृतिको दोस्रो संस्करण बेलबारीको साहित्यिक इतिहासका अध्येताका लागि खोजीखोजी अध्ययन गर्ने कृति बन्ने कुरामा दुई मत छैन ।







