विराटचोकः आज बालाचतुर्दशीको दिन हो । आज विशेषगरी शिवालयमा शतबीज छर्ने गरिन्छ । मार्गशीर्ष कृष्णपक्षको चतुर्दशीलाई बाला चतुर्दशी भनिन्छ । बाला चतुर्दशीको अघिल्लो दिन अर्थात् मार्गकृष्ण त्रयोदशीका दिन आशुतोष भगवान शिवको मन्दिरमा बसेर दिवङ्गत स्वजनका नाममा बत्ती बालेर भजनकीर्तन गर्दै जाग्राम बसिन्छ । आज चतुर्दशीका दिन त्यहीँ नजिकका नदी, तलाउ, पोखरी आदि पवित्र स्थानमा स्नान गरेर नित्यकर्म सकेपछि शतबीज छर्ने गरिन्छ ।
देशको मुख्य शिवालय पशुपतिनाथ मन्दिरलगायत देशभरका शिवमन्दिरमा आफ्नो परिवारका दिवङ्गत व्यक्तिको आत्माको चिरशान्तिको कामना गर्दै सयवटा अन्नहरूको मिश्रण गरिएको अन्न शतबीज दिवङ्गत पितृहरूका नाममा छर्ने प्रचलन रहेको छ । त्यसपछि ब्राह्मणहरूलाई दान–दक्षिणा प्रदान गरी भोजन समेत गराउने शास्त्रीय विधान रहेको छ । प्राचीन हेमाद्रि नामक धर्मग्रन्थमा भने धानका सय दाना मात्र शतबीजको रुपमा चढाउनुपर्ने विधान रहेको पाइन्छ ।
मृगस्थलीं परिभ्राम्य पुनर्जन्म न विद्यते ।
सुवर्णरतिकातुल्यं ब्रीहिमेकं परिक्षिपेत् ।।