इटहरीः सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको आयोजनामा ‘सन नेपाल क्लब मोटिभेटिङ प्रोग्राम’ इटहरीस्थित र्याडिसन होटलमा सम्पन्न भएको छ ।
कार्यक्रममा नेपाल बीमा प्राधिकरण, कोशी प्रदेश कार्यालयका प्रमुख राजेन्द्र महर्जनले बीमा व्यवसायको विस्तारसँगै बीमितको हित, जोखिम व्यवस्थापन र व्यावसायिक आचरणलाई प्राथमिकता दिन बीमा अभिकर्ताहरूलाई आग्रह गर्नुभयो । महर्जनले अभिकर्ताले ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन गरेर उपयुक्त बीमा योजना छनोट गर्नुपर्ने बताउनुभयो । बीमा योजना बिक्री गर्दा त्यसका सुविधा, शर्त, जोखिम र दायित्वबारे बीमितलाई स्पष्ट जानकारी गराउनुपर्ने उहाँको भनाइ थियो ।
उहाँले बीमा क्षेत्रमा देखिँदै आएको ‘मिसेलिङ’ समस्या न्यूनीकरणमा अभिकर्ताको भूमिका महत्वपूर्ण हुने उल्लेख गर्दै गलत, अपूर्ण वा भ्रामक सूचना प्रवाह नगर्न आग्रह गर्नुभयो । अभिकर्ता बीमा कम्पनीको प्रतिनिधिका साथै कम्पनीको ब्रान्ड एम्बेसडरसमेत भएकाले उनीहरूको व्यवहारले कम्पनीको प्रतिष्ठा र समग्र बीमा क्षेत्रप्रतिको जनविश्वासमा प्रभाव पार्ने उहाँको भनाइ थियो ।
अभिकर्ता आचारसंहिताको पूर्ण पालना गर्दै पेशागत मर्यादा, पारदर्शिता र जिम्मेवारीलाई आत्मसात् गर्नुपर्नेमा उहाँले जोड दिनुभयो । बीमा गराएपछि पनि बीमितलाई आवश्यक सेवा, बीमालेखसम्बन्धी जानकारी तथा दाबी प्रक्रियामा सहजीकरण गर्नु अभिकर्ताको महत्वपूर्ण दायित्व रहेको उहाँको भनाइ थियो ।
कार्यक्रममा सन नेपाल लाइफ इन्स्योरेन्सका पदाधिकारी तथा विभिन्न तहका बीमा अभिकर्ताहरूको सहभागिता थियो ।





