विराटचोकः मन्त्रिपरिषद् बैठकले नेपाल पुनर्बीमा कम्पनीको हकप्रद शेयरमा सरकारले लगानी गर्ने निर्णय गरेपछि निष्कासन प्रक्रिया अघि बढ्ने भएको छ ।
नेपाल रिइन्स्योरेन्सले चुक्ता पूँजी बढाउन २०८२ साउनमा शतप्रतिशत हकप्रद शेयर निष्कासन गर्ने निर्णय गरेको थियो ।
हाल नेपाल पुनर्बीमा कम्पनीको चुक्ता पूँजी १३ अर्ब ४२ करोड २१ लाख ८७ हजार रुपैयाँ छ । जसमा सरकारको ४४.४ प्रतिशत लगानी छ ।
सर्वसाधारण लगानीकर्ताको १६ प्रतिशत शेयर स्वामित्व छ । बाँकी लगानीकर्तामा २० वटा बीमा कम्पनीसँगै ग्लोबल आईएमई क्यापिटल, गुह्येश्वरी मर्चेन्ट बैंकिङ, हाथवे इन्भेस्टमेन्ट, ग्लोबल आईएमई बैंक, सुप्रिम सिमेन्ट्स, आईएमई, ज्ञान सेक्युरिटिज, विशाल ग्रुप र लक्ष्मी सनराइज बैंक रहेका छन् ।
नेपाल रि इन्स्योरेन्स यसअघि पनि पूँजी वृद्धिको प्रस्ताव गर्दै अर्थ मन्त्रालय पुगेको थियो । सरकारले थप पूँजी लगानी नगर्ने निर्णय गरेपछि हकप्रद शेयर निष्कासन गर्ने प्रक्रिया रोकिएको थियो ।





